शनिबार १२ बैशाख २०८३
राजनीति

सुकुम्वासीलाई हटाउने होइन, सुरक्षित स्थानमा सार्न लागिएको मात्र हो: प्रधानमन्त्री साह

शुक्रबार बैशाख ११, २०८३/ Friday 04-24-26

काठमाडौं।  प्रधानमन्त्री वालेन्द्र शाहले काठमाडौँ उपत्यकाका खोला किनारमा रहेका सुकुम्बासी बस्तीलाई सुरक्षित र व्यवस्थित स्थानमा सार्ने तयारी भइरहेको बताएका छन्।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत् धारणा सार्वजनिक गर्दै उनले हरेक वर्ष आउने बाढीका कारण हजारौँ नागरिक प्रभावित हुने र ज्यान जोगाउन संघर्ष गर्नुपर्ने अवस्था दोहोरिँदै आएको उल्लेख गरे।

प्रधानमन्त्री शाहका अनुसार यो समस्या दीर्घकालीन रूपमा समाधान गर्न आवश्यक भइसकेको छ। उनले खोला किनारका अव्यवस्थित बस्तीका कारण डुबानको जोखिम बढ्नुका साथै ढल निकास प्रणालीमा समेत अवरोध पुग्दै आएको बताए, जसले उपत्यकाको वातावरणीय अवस्था थप जटिल बनाएको उनको भनाइ छ।

थापाथली, गैरीगाउँ, मनोहरा लगायतका क्षेत्रका जोखिमयुक्त बस्तीलाई बल प्रयोग नगरी मानवीय ढंगले स्थानान्तरण गरिने उनले स्पष्ट पारे।

प्रधानमन्त्री शाहले सुकुम्बासी व्यवस्थापनलाई सरकारको प्राथमिक योजनाअन्तर्गत अघि बढाइने बताउँदै वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याएर दीर्घकालीन समाधान निकालिने बताए। साथै, देशभरका वास्तविक सुकुम्बासीलाई प्रक्रिया पूरा गरी जग्गा वितरण गर्ने तयारी भइरहेको जानकारी पनि उनले दिएका छन्।

 

तपाईको प्रतिक्रिया