बिहीबार १० बैशाख २०८३
समाज

महान्यायाधिवक्ता कँडेलको योग्यतासम्बन्धी रिटमा कारण देखाउ आदेश

बिहीबार बैशाख १०, २०८३/ Thursday 04-23-26

काठमाडौँ । सर्वोच्च अदालतले महान्यायाधिवक्ता नारायणदत्त कडेलको योग्यतामाथि उठाइएको प्रश्नसम्बन्धी रिटमा सरकार र कडेललाई उपस्थित भई छलफल गर्न आदेश दिएको छ।

न्यायाधीश कुमार रेग्मीको एकल इजलासले बिहीबार रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै ‘अधिकारपृच्छा’ आदेशको मागसहित दायर निवेदनमा विपक्षी पक्षलाई बोलाउने निर्णय गरेको हो। साथै, सर्वोच्चले सरकारसँग कारणसहितको लिखित जवाफ पनि माग गरेको छ।

अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा वैशाख १७ गतेका लागि थप छलफलको मिति तोकिएको जानकारी अदालतका प्रवक्ता अर्जुन कोइरालाले दिएका छन्।

गत चैत २२ मा महान्यायाधिवक्तामा नियुक्त कडेलविरुद्ध अधिवक्ता माधब कुमार बस्नेत, दीपकराज जोशी र सिराज बराल लगायतले तीनवटा छुट्टाछुट्टै रिट दायर गरेका थिए। उनीहरूले कडेलको नियुक्ति संवैधानिक मापदण्डअनुसार नभएको दाबी गरेका छन्।

रिटमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री बालेन्द्र शाह र महान्यायाधिवक्ता कडेलसहितलाई विपक्षी बनाइएको छ। अब संयुक्त इजलासमा दुवै पक्षबीच हुने बहसपछि कडेललाई पदमा रहँदै काम गर्न दिने वा रोक लगाउने विषयमा अन्तरिम आदेश जारी हुने वा नहुने निर्णय गरिनेछ।

रिट निवेदनमा संविधानको धारा १५७(३) र १२९(५) अनुसार आवश्यक पर्ने कम्तीमा १५ वर्षको निरन्तर कानुनी अभ्यास अनुभव कडेलसँग नभएको दाबी गरिएको छ।

तपाईको प्रतिक्रिया