शनिबार १२ बैशाख २०८३
राजनीति

बागमती–मनोहरा किनारका अवैध बस्ती हटाउन सुरु

शनिबार बैशाख १२, २०८३/ Saturday 04-25-26

काठमाडौँ ।  काठमाडौँ उपत्यकामा बागमती र मनोहरा नदी किनारका अवैध संरचना हटाउने काम आजदेखि सुरु भएको छ। थापाथली क्षेत्रबाट बिहान साढे ८ बजेदेखि डोजर परिचालन गरिएको हो।

सरकारले थापाथली, टेकु, तीनकुने, सिनामंगल र मनोहरा आसपासका अतिक्रमित क्षेत्र आज र भोलिभित्र खाली गराउने तयारी गरेको छ। यसअघि हिजो बेलुकासम्म स्थान खाली गर्न समय दिइएको थियो। केही परिवार स्थानान्तरण भइसकेका छन् भने जाने ठाउँ नभएका परिवार खुला ठाउँमै बसिरहेका छन्।

बस्ती हटाउन सहरी विकास मन्त्रालय र सडक विभागसँगै सुरक्षाकर्मी परिचालन गरिएको छ। अशक्त, बालबालिका, गर्भवती, वृद्ध तथा दीर्घरोगीलाई सुरक्षित स्थानमा सार्ने व्यवस्था गरिएको छ।

प्रारम्भिक रूपमा विस्थापितलाई त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राखिनेछ, जहाँ उनीहरूको विवरण सङ्कलन र छानबिन गरिनेछ। वास्तविक पीडितलाई सरकारी आश्रयस्थलमा स्थानान्तरण गरिनेछ भने अन्यलाई आफ्नो स्थायी ठेगानामा पठाइनेछ।

महानगरपालिकाले विस्थापितको खाना, स्वास्थ्य, शिक्षा र हेरचाहको जिम्मा लिने जनाएको छ। नागार्जुनको इचंगुनारायणमा २३० परिवार अट्ने आवास पनि तयारी अवस्थामा छ।

बस्ती खाली भएपछि भत्किएका संरचना हटाउने र करिडोर निर्माण कार्य तीव्र बनाइने सरकारको योजना छ।

 

तपाईको प्रतिक्रिया