शुक्रबार १५ जेठ २०८३
समाज

मधेश प्रदेशको नीति तथा कार्यक्रम : 'मेड इन मधेश, समृद्ध प्रदेश'

शुक्रबार जेठ १५, २०८३/ Friday 05-29-26

जनकपुर । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८३/०८४ का लागि कृषि, उद्योग र पर्यटन क्षेत्रलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

सरकारले शिक्षा, स्वास्थ्य तथा भौतिक पूर्वाधार विकासलाई समेत प्राथमिकतामा राख्दै जनताले प्रत्यक्ष अनुभूति गर्ने कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । प्रदेशभित्रै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित प्रादेशिक अस्पताललाई अत्याधुनिक उपकरणसहित स्तरोन्नति गरिने नीति लिइएको छ ।

शिक्षा र स्वास्थ्य क्षेत्रमा रहेको परनिर्भरता घटाउन सरकारी अस्पताल र शैक्षिक संस्थालाई आधुनिक तथा पूर्वाधारयुक्त बनाइने उल्लेख गरिएको छ । ‘अपन बच्चाके स्कुल पठाउ, साक्षरताके दीप जलाउ’ अभियानमार्फत सघन साक्षरता कार्यक्रम सञ्चालन गरिने सरकारको योजना छ ।

‘मेड इन मधेश : समृद्ध प्रदेश’ अभियानअन्तर्गत कृषि उत्पादन वृद्धि गर्दै आयात प्रतिस्थापन गर्ने लक्ष्य राखिएको छ । धान, गहुँ, मकै, कोदो, तेलहन तथा दलहन बालीमा आत्मनिर्भर बन्ने नीति लिएको सरकारले सिँचाइमा प्रयोग हुने विद्युत् महसुलमा शतप्रतिशत अनुदान दिने घोषणा गरेको छ । किसानलाई अनुदान रकम सिधै बैंक खातामा उपलब्ध गराइने तथा तरकारी, फलफूल र दुग्धजन्य उत्पादनको बजार व्यवस्थापन स्थानीय तह र सहकारीमार्फत गरिने जनाइएको छ ।

उद्योग प्रवर्द्धनका लागि सहज कानुनी व्यवस्था गर्ने र एक हजार जनालाई रोजगारी दिने रोजगारदातालाई सम्मान गर्ने नीति पनि सरकारले अघि सारेको छ । महिला तथा युवामैत्री डिजिटल बजार विस्तारलाई समेत प्राथमिकता दिइने भएको छ ।

टुक्रे योजनालाई निरुत्साहित गर्दै ठूला र बहुवर्षीय आयोजनामा लगानी केन्द्रित गरिने नीति सरकारले लिएको छ । ऊर्जा, सिँचाइ, खानेपानी र सुरक्षित आवासका क्षेत्रमा योजनाबद्ध ढंगले बजेट विनियोजन गरिने उल्लेख छ । साथै, प्रहरी चौकीलाई स्मार्ट बनाउने तथा जीर्ण अवस्थामा रहेका चौकीको स्तरोन्नति गर्ने योजना पनि समावेश गरिएको छ ।

मधेशका विभिन्न भाषाको संरक्षणका लागि भाषा अनुसन्धान केन्द्र स्थापना गरिने तथा आफ्नै सञ्चार ग्राम निर्माण गरी पत्रिका, रेडियो र टेलिभिजन सञ्चालन गरिने सरकारको तयारी छ । प्राचीन कला, संस्कृति र पहिरन झल्कने संग्रहालय स्थापना गर्ने नीति पनि अघि सारिएको छ ।

बालविवाह र दाइजो प्रथाविरुद्ध विशेष सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ । साथै पोखरी, कुवा, तलाउ तथा नदी–नालामा डुबेर हुने बालबालिकाको मृत्यु रोक्न जनचेतना कार्यक्रम सञ्चालन गर्ने योजना सरकारको छ ।

११औं राष्ट्रिय खेलकुद प्रतियोगिता मधेश प्रदेशमा आयोजना गर्ने लक्ष्यसहित जनकपुरस्थित रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशालाको निर्माण तथा अन्य रंगशालाको मर्मतसम्भार गरिने जनाइएको छ । ‘खेलकुद रोजौं, लागुऔषधबाट टाढा रहौं’ भन्ने नारासहित खेलकुद क्षेत्रलाई पनि प्राथमिकतामा राखिएको छ ।

तपाईको प्रतिक्रिया