विद्युतीय सवारी प्रवर्द्धन गर्न पेट्रोलपम्पलाई चार्जिङ केन्द्र बनाइने
काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा पेट्रोलपम्पहरूमा विद्युतीय सवारी (इभी) चार्जिङ स्टेशन विस्तारलाई प्रोत्साहन गर्ने नीति लिएको छ ।
संघीय संसद्मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले देशभर इभी प्रवर्द्धन गर्ने उद्देश्यसहित पेट्रोलपम्पहरूलाई चार्जिङ पूर्वाधार निर्माणमा संलग्न हुन प्रोत्साहन गरिने बताएका छन् । सरकारले निजी तथा सार्वजनिक क्षेत्रको सहकार्यमा विद्युतीय सवारीको पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखेको छ ।
त्यसैगरी, इन्धन आयातमा निर्भरता घटाउने र वातावरणमैत्री ऊर्जा उपयोगलाई बढावा दिने लक्ष्यसहित पेट्रोलमा १० प्रतिशत इथानोल मिश्रण गर्ने नीति पनि कार्यान्वयन गरिने बजेटमा उल्लेख गरिएको छ । सरकारले यो कदमलाई ऊर्जा सुरक्षा, प्रदूषण नियन्त्रण र दिगो यातायात प्रणालीतर्फको महत्वपूर्ण पहलका रूपमा प्रस्तुत गरेको छ ।
तपाईको प्रतिक्रिया