आइतबार २४ जेठ २०८३
बिजनेस

१२ वर्षपछि अन्तिम चरणमा पुगेको शेष घलेको ‘ड्रिम प्रोजेक्ट’, म्यारियटको सबैभन्दा विशिष्ट ब्रान्ड नेपाल आउँदै

आइतबार जेठ २४, २०८३/ Sunday 06-07-26

काठमाडौं । एक दशकभन्दा बढी समयदेखि निर्माणाधीन रहेको व्यवसायी शेष घलेको महत्वाकांक्षी होटल परियोजनाले अन्ततः अन्तर्राष्ट्रिय पहिचान पाउने भएको छ। विश्वव्यापी होटल समूह म्यारियट इन्टरनेशनलको सबैभन्दा प्रतिष्ठित लक्जरी ब्रान्ड ‘द लक्जरी कलेक्सन’ नेपाल भित्र्याउने सम्झौता भएसँगै लैनचौरस्थित होटल नयाँ चरणमा प्रवेश गरेको हो।

परियोजनाको निरीक्षणका लागि म्यारियट इन्टरनेशनलका अध्यक्ष डेभिड म्यारियट स्वयं काठमाडौं आइपुगेका छन्। उनले निर्माणाधीन होटलको अवलोकन गर्दै व्यवस्थापन तथा सञ्चालनको तयारीबारे जानकारी लिएका थिए।

सन् २०१३ मा सुरु भएको परियोजना विभिन्न कारणले पटक–पटक प्रभावित भयो। निर्माण अवधि लम्बिँदा लागतसमेत उल्लेख्य रूपमा बढेको छ। सुरुमा करिब १३ अर्ब रुपैयाँमा सम्पन्न हुने अनुमान गरिएको परियोजना अहिले १५ अर्ब रुपैयाँको हाराहारीमा पुगेको छ।

शेष घलेका अनुसार होटल निर्माणको अधिकांश काम सम्पन्न भइसकेको छ भने बाँकी काम आगामी केही महिनाभित्र सक्ने लक्ष्य राखिएको छ। होटलको आधिकारिक नाम भने ट्रेडमार्क प्रक्रियाका कारण हाल गोप्य राखिएको छ।

‘हामीले अन्तर्राष्ट्रिय लक्जरी बजारलाई लक्षित गरेर काम गरिरहेका छौं। निर्माणमा ढिलाइ भए पनि अन्तिम उत्पादन विश्वस्तरीय बनाउने हाम्रो प्राथमिकता थियो,’ घलेले भने।

यो परियोजनाको अर्को विशेषता भनेको दक्षिण एशियामा ‘द लक्जरी कलेक्सन’ ब्रान्डको पहिलो उपस्थिति हुने दाबी हो। यदि योजना अनुसार सञ्चालनमा आयो भने नेपालले क्षेत्रीय आतिथ्य उद्योगमा एउटा नयाँ माइलस्टोन स्थापित गर्नेछ।

लगानीकर्ता जमुना गुरुङ घलेका अनुसार परियोजनाको प्रारम्भिक अवधारणाभन्दा अहिलेको स्वरूप निकै फरक छ। सुरुमा शेरेटन ब्रान्डअन्तर्गत सञ्चालन गर्ने सोच बनाइए पनि पछि लक्जरी कलेक्सनमा रूपान्तरण गर्ने निर्णय भएपछि डिजाइन, इन्टेरियर र सेवाका मापदण्डहरू पुनः परिभाषित गर्नुपरेको थियो।

‘हामीले केवल एउटा होटल बनाएका होइनौं, नेपालमा अहिलेसम्म नदेखिएको स्तरको आतिथ्य अनुभव निर्माण गरेका छौं,’ उनले भनिन्।

नेपालमा म्यारियट समूहको विस्तार तीव्र भइरहेका बेला यो सम्झौताले बजारमा नयाँ प्रतिस्पर्धा सिर्जना गर्ने अपेक्षा गरिएको छ। हाल म्यारियट समूहका विभिन्न ब्रान्डहरू काठमाडौंमा सञ्चालनमा छन्। तर ‘द लक्जरी कलेक्सन’ को आगमनले नेपालको उच्चस्तरीय होटल उद्योगलाई अझ फराकिलो अन्तर्राष्ट्रिय सञ्जालसँग जोड्ने विश्वास गरिएको छ।

 

तपाईको प्रतिक्रिया