डेभिडको ह्याट्रिकमा क्यानडाको ऐतिहासिक जित, कतार ६-० ले पराजित
काठमाडौँ । जोनाथन डेभिडको शानदार ह्याट्रिकको मद्दतमा सह–आयोजक क्यानडाले फिफा विश्वकप २०२६ मा ऐतिहासिक जित दर्ता गरेको छ। बिहीबार राति सम्पन्न समूह ‘बी’ अन्तर्गतको खेलमा क्यानडाले कतारलाई ६–० को फराकिलो अन्तरले पराजित गरेको हो।
विश्वकप इतिहासमा क्यानडाको यो पहिलो जित हो। यस प्रभावशाली नतिजासँगै क्यानडाले दुई खेलबाट चार अंक जोड्दै नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ। पराजित कतार भने खेलको अन्त्यतिर दुई खेलाडी गुमाउँदै नौ खेलाडीमा सीमित भएको थियो।
खेलको सुरुआतदेखि नै क्यानडाले आक्रामक प्रदर्शन गर्दै कतारमाथि दबाब कायम राखेको थियो। घरेलु समर्थकको उत्साहजनक साथ पाएको टोलीका लागि स्टार फरवार्ड जोनाथन डेभिडले ह्याट्रिक पूरा गर्दै जितको आधार तयार पारे। कतारी रक्षापङ्क्तिले क्यानडाको तीव्र आक्रमण रोक्न सकेन।
दोस्रो हाफमा खेल थप तनावपूर्ण बनेको थियो। कतारका दुई खेलाडीले रातो कार्ड पाएर मैदान छाड्नुपरेको थियो। त्यही क्रममा क्यानडाका प्रमुख मिडफिल्डर इस्माएल कोने गम्भीर घाइते भएपछि दुवै टोलीका खेलाडी तथा प्राविधिक टोलीबीच केही समय विवाद र तनावको अवस्था सिर्जना भएको थियो।
ऐतिहासिक जितपछि क्यानडाका मुख्य प्रशिक्षक जेसी मार्सले टोलीको प्रदर्शनप्रति सन्तुष्टि व्यक्त गरेका छन्। स्टेडियममा उपस्थित हजारौँ समर्थकले पनि जितको भव्य उत्सव मनाएका थिए।
समूह ‘बी’ अन्तर्गत क्यानडाले अब आफ्नो अन्तिम खेलमा स्विट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेलमा पराजित भए पनि उत्कृष्ट गोलअन्तरका कारण क्यानडाको अघिल्लो चरण यात्रा लगभग सुरक्षित देखिएको छ।
तपाईको प्रतिक्रिया