मंगलबार २ असार २०८३
अर्थ

लगातार चौथो दिन घट्यो सेयर बजार, ४ अर्बको कारोबार

मंगलबार असार २, २०८३/ Tuesday 06-16-26

काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार पनि ओरालो लागेको छ। लगातार चौथो कारोबार दिन बजार घट्दा नेप्से ६.३१ अंकले कमी आएर २७०५ अंकमा झरेको छ।

यसअघि सोमबार नेप्से १२.२६ अंक, शुक्रबार ४ अंक र बिहीबार ८ अंकले घटेको थियो। मंगलबार कारोबार सुरु हुँदा बजार सकारात्मक देखिए पनि केही मिनेटमै गिरावटतर्फ लागेको थियो। कारोबार अवधिभर दबाबमा रहेको बजार दिउँसो १२:५३ बजे दिनकै न्यूनतम २७०१ अंकसम्म पुगेको थियो।

कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। सोमबार ४ अर्ब ४१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा मंगलबार ४ अर्ब ४ करोड रुपैयाँमा सीमित रह्यो।

आज ७३ कम्पनीको सेयर मूल्य बढ्दा १९३ कम्पनीको मूल्य घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ। अधिकांश क्षेत्रीय सूचक सामान्य उतारचढावमा रहे। व्यापार समूह भने ०.३१ प्रतिशतले बढ्न सफल भयो।

यता बैंकिङ समूह ०.३२ प्रतिशत, विकास बैंक ०.४२ प्रतिशत, फाइनान्स ०.६२ प्रतिशत, होटल तथा पर्यटन ०.१६ प्रतिशत, हाइड्रोपावर ०.२८ प्रतिशत, लगानी ०.२० प्रतिशत, उत्पादन तथा प्रशोधन ०.१४ प्रतिशत, माइक्रोफाइनान्स ०.११ प्रतिशत, निर्जीवन बीमा ०.४० प्रतिशत तथा अन्य समूह ०.०६ प्रतिशतले घटेका छन्।

व्यक्तिगत कम्पनीतर्फ सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावरको सेयर मूल्यमा १५ प्रतिशतको उल्लेखनीय वृद्धि देखिएको छ। वृद्धि पश्चात् सोपानको प्रतिकित्ता मूल्य ७०३.१० रुपैयाँ र एपोलो हाइड्रोपावरको ६०२.४० रुपैयाँ पुगेको छ।

दोल्ती पावर, बुंगल हाइड्रो र मेन्छियाम हाइड्रोपावर क्रमशः ६.३४ प्रतिशत, ५.५१ प्रतिशत र ४.२२ प्रतिशतले उकालो लागेका छन्। विपरीततर्फ सयपत्री हाइड्रोपावर ४.९० प्रतिशत, युनिक नेपाल लघुवित्त ४.०३ प्रतिशत, कालिन्चोक हाइड्रोपावर ३.५४ प्रतिशत तथा रिलायन्स स्पिनिङ मिल्स ३.४१ प्रतिशतले घटेका छन्।

कारोबार रकमका आधारमा मंगलबार आँखुखोला जलविद्युत् कम्पनी, सिद्धार्थ बैंक, रावा इनर्जी, रिलायन्स स्पिनिङ मिल्स र बुंगल हाइड्रो सबैभन्दा सक्रिय कम्पनीका रूपमा रहेका छन्।

तपाईको प्रतिक्रिया