काठमाडौँ। ललितपुरस्थित सदर चिडियाखाना बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा) संक्रमण देखिएपछि अनिश्चितकालका लागि बन्द गरिएको छ।
राष्ट्रिय प्रकृति संरक्षण कोषले शुक्रबार सूचना जारी गर्दै चिडियाखाना परिसरभित्र रहेका केही जीवजन्तुमा बर्ड फ्लु संक्रमण पुष्टि भएकाले अर्को सूचना जारी नभएसम्मका लागि चिडियाखाना बन्द गरिएको जनाएको हो।
कोषद्वारा जारी सूचनामा सर्वसाधारण दर्शकको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै असार ५ गतेदेखि लागू हुने गरी चिडियाखाना बन्द गरिएको उल्लेख गरिएको छ।
“चिडियाखाना परिसरभित्र रहेका जीवजन्तुमा बर्ड फ्लु संक्रमण देखिएकोले आम सर्वसाधारणको स्वास्थ्यलाई मध्यनजर गर्दै आजदेखि अर्को सूचना प्रकाशित नभएसम्म चिडियाखाना बन्द गरिएको जानकारी गराइन्छ,” सूचनामा भनिएको छ।
यद्यपि, संक्रमण कुन–कुन प्रजातिका जीवजन्तुमा देखिएको हो भन्नेबारे कोषले विस्तृत विवरण सार्वजनिक गरेको छैन।
करिब ६ हेक्टर क्षेत्रफलमा फैलिएको सदर चिडियाखानामा हाल १२७ प्रजातिका ६४२ वटा स्तनधारी, चरा, माछा तथा सरीसृप जीवजन्तु रहेका छन्। नेपालकै प्रमुख वन्यजन्तु अवलोकन केन्द्रका रूपमा रहेको चिडियाखानामा हरेक वर्ष १० लाखभन्दा बढी दर्शक पुग्ने गरेका छन्।
बर्ड फ्लु संक्रमण नियन्त्रण तथा थप जोखिम न्यूनीकरणका लागि आवश्यक निगरानी र व्यवस्थापन कार्य भइरहेको कोषले जनाएको छ।
तपाईको प्रतिक्रिया