आइतबार ३१ जेठ २०८३
समाज

नेपाल प्रहरीमा ३६३ प्रहरी जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस

शनिबार जेठ ३०, २०८३/ Saturday 06-13-26

काठमाडौँ।  नेपाल प्रहरी प्रधान कार्यालयको बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक समूह तथा उपसमूहअन्तर्गत कार्यरत ३६३ जना प्रहरी जवानलाई प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको छ।

प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) बमोजिम जेठ २९ गते बसेको बढुवा समितिको बैठकले उक्त निर्णय गरेको हो।

सिफारिस गरिएका प्रहरी जवानमध्ये इन्जिनियरिङ उपसमूहअन्तर्गत आवास तथा भौतिक इन्जिनियरिङतर्फ २४ जना, सूचना प्रविधि तथा कम्प्युटरतर्फ १४ जना, सञ्चारतर्फ १९८ जना तथा मेकानिकल इन्जिनियरिङ र सवारीतर्फ ३२ जना रहेका छन्।

त्यसैगरी हातहतियार उपसमूहतर्फ २ जना, विधिविज्ञानतर्फ ६ जना, संगीततर्फ ६३ जना र केनाइन उपसमूहतर्फ २४ जना प्रहरी जवान बढुवाका लागि सिफारिस भएका छन्।

नेपाल प्रहरीले कार्यसम्पादन, शैक्षिक योग्यता, तालिम तथा अन्य निर्धारित मापदण्डका आधारमा प्राप्त कुल अंकअनुसार योग्यताक्रम सूची तयार गरी बढुवा सिफारिस गरिएको जनाएको छ।

सिफारिस सूचीप्रति असन्तुष्ट हुने उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र उजुरी सुन्ने समितिसमक्ष उजुरी दिन सक्ने व्यवस्था रहेको पनि नेपाल प्रहरीले जनाएको छ।

 

तपाईको प्रतिक्रिया