शनिबार ६ असार २०८३
राजनीति

प्रतिनिधि सभा बैठक असार ११ गतेसम्मका लागि स्थगित

शुक्रबार असार ५, २०८३/ Friday 06-19-26

काठमाडौं । प्रतिनिधिसभाको बैठक आगामी असार ११ गतेसम्मका लागि स्थगित गरिएको छ। शुक्रबार बसेको बैठकमा चार वटा अध्यादेश स्वीकृत भएपछि सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक बिहान ११ बजे बस्ने गरी सूचना दिएका हुन्।

शुक्रबारको बैठकले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, सहकारी (पहिलो संशोधन) अध्यादेश तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेशलाई अनुमोदन गरेको छ।

सरकारले चालु संघीय संसद् अधिवेशन सुरु हुनुअघि कुल आठ वटा अध्यादेश जारी गरेको थियो। ती सबै अध्यादेश गत वैशाख २८ गते अधिवेशन प्रारम्भ भएकै दिन प्रतिनिधिसभा र राष्ट्रिय सभामा पेश गरिएका थिए।

संसद् अवकाशमा रहेका बेला सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, सार्वजनिक खरिद अध्यादेश, विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेशसहित विभिन्न कानुन संशोधनका लागि अध्यादेश जारी गरेको थियो। त्यस्तै स्वास्थ्य विज्ञान प्रतिष्ठान, सम्पत्ति शुद्धीकरण निवारण, सहकारी तथा अन्य केही नेपाल ऐन संशोधनसम्बन्धी अध्यादेश पनि सोही अवधिमा ल्याइएका थिए।

प्रतिनिधिसभाबाट स्वीकृत भएका चार अध्यादेश अब प्रतिस्थापन विधेयकमार्फत कानुनी रूपान्तरणको प्रक्रियामा अघि बढ्ने बाटो खुलेको छ।

तपाईको प्रतिक्रिया