युद्ध अन्त्यका लागि आज ऐतिहासिक सम्झौता हुने ट्रम्पको दाबी
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी तनाव र युद्ध अन्त्य गर्ने उद्देश्यले महत्वपूर्ण सम्झौता छिट्टै हुनसक्ने बताएका छन्। उनले आइतबार नै ऐतिहासिक सहमतिमा हस्ताक्षर हुनसक्ने दाबी गरेका भए पनि इरानले भने त्यसलाई तत्काल सम्भव नरहेको जनाएको छ।
सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत ट्रम्पले सम्भावित सम्झौतापछि विश्वको प्रमुख समुद्री व्यापारिक मार्ग स्ट्रेट अफ होर्मुज सबैका लागि खुला रहने उल्लेख गरेका छन्। साथै, उनले इरानको आणविक सामग्री अन्ततः अमेरिकी नियन्त्रणमा आउने र त्यसलाई निष्क्रिय बनाइने दाबी पनि गरेका छन्।
वार्तामा मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको पाकिस्तानले पनि सम्झौता अन्तिम चरणमा पुगेको संकेत गर्दै आगामी २४ घण्टाभित्र सहमति टुङ्गो लाग्न सक्ने जनाएको छ। पाकिस्तानका अनुसार आवश्यक प्रक्रिया पूरा गरी विद्युतीय माध्यमबाट हस्ताक्षरको तयारी भइरहेको छ।
यद्यपि, इरानले भने अमेरिकी पक्षको समयसीमाप्रति असहमति जनाएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले सम्झौताका विषयमा प्रगति भइरहेको स्वीकार गरे पनि आइतबार नै हस्ताक्षर हुने सम्भावना नरहेको बताएका छन्।
पश्चिमी मुलुकहरूले लामो समयदेखि इरानमाथि आणविक हतियार विकास गर्न खोजेको आरोप लगाउँदै आएका छन्। तर इरानले भने आफ्नो आणविक कार्यक्रम पूर्ण रूपमा शान्तिपूर्ण रहेको र ऊर्जा तथा विद्युत उत्पादनका लागि मात्र सञ्चालन गरिएको बताउँदै आएको छ।
तपाईको प्रतिक्रिया