काठमाडौं । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७ अर्ब १५ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। शुक्रबार आयोजित नगरसभामा उपमेयर मञ्जुदेवी गुरुङले बजेट प्रस्तुत गरेकी हुन्।
प्रस्तावित बजेटमध्ये करिब ५५ प्रतिशत रकम पुँजीगत खर्चका लागि विनियोजन गरिएको छ भने बाँकी ४५ प्रतिशत चालू खर्चतर्फ छुट्याइएको छ।
महानगरले आगामी वर्ष संघीय सरकारबाट सशर्त अनुदानअन्तर्गत २ अर्ब ६१ करोड रुपैयाँ प्राप्त गर्ने अनुमान गरेको छ। त्यस्तै विशेष अनुदानमा ५ करोड ५० लाख, समपुरक अनुदानमा १ करोड ८२ लाख तथा समानीकरण अनुदानमा ४९ करोड ३७ लाख रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ। वित्तीय हस्तान्तरणमार्फत मात्रै ३ अर्ब १८ करोड रुपैयाँ आउने अपेक्षा गरिएको छ।
प्रदेश सरकारबाट पनि विभिन्न शीर्षकमा अनुदान प्राप्त हुने अनुमान छ। समपुरक अनुदानतर्फ ६० लाख, विशेष अनुदानतर्फ ४० लाख, समानीकरण अनुदानमा ८ करोड १५ लाख र वित्तीय हस्तान्तरणमार्फत ९ करोड १५ लाख रुपैयाँ प्राप्त हुने महानगरले जनाएको छ।
यसका अतिरिक्त संघीय राजस्व बाँडफाँटबाट ३४ करोड ३४ लाख र प्रदेश राजस्व बाँडफाँटबाट ४ करोड ९ लाख रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ। स्थानीय राजस्व बाँडफाँटबाट १ अर्ब ३१ लाख तथा आन्तरिक स्रोतबाट २ अर्ब ४८ करोड ७३ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ।
बजेटअन्तर्गत वडा कार्यालयमार्फत सञ्चालन हुने विकास तथा सेवा सम्बन्धी योजनाका लागि ७२ करोड ४० लाख रुपैयाँ विनियोजन गरिएको छ।
तपाईको प्रतिक्रिया