शनिबार ६ असार २०८३
राजनीति

राष्ट्रिय सभाबाट पनि चार अध्यादेश स्वीकृत

शुक्रबार असार ५, २०८३/ Friday 06-19-26

काठमाडौं । राष्ट्रिय सभाले सरकारद्वारा प्रस्तुत चार वटा अध्यादेशलाई अनुमोदन गरेको छ। शुक्रबार बसेको बैठकले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, सहकारी (पहिलो संशोधन) अध्यादेश तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेशलाई स्वीकृति प्रदान गरेको हो।

यी अध्यादेशहरू स्वीकृतिका लागि राष्ट्रिय सभामा पेश गरिएका थिए र छलफलपश्चात् सभाले अनुमोदन गरेको हो। यसअघि सोही दिन प्रतिनिधिसभाले पनि यिनै चार अध्यादेश पारित गरिसकेको थियो।

राष्ट्रिय सभामा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व नरहे पनि सरकारले अघि सारेका अध्यादेशहरूले आवश्यक समर्थन प्राप्त गरेका छन्। दुवै सदनबाट स्वीकृति पाएसँगै अब ती अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक संसद्मा ल्याउने प्रक्रिया अगाडि बढ्ने भएको छ।

सरकारले चालु संघीय संसद् अधिवेशन सुरु हुनुअघि कुल आठ वटा अध्यादेश जारी गरेको थियो। ती अध्यादेशहरू गत वैशाख २८ गते, संसद् अधिवेशन प्रारम्भ भएकै दिन, प्रतिनिधिसभा र राष्ट्रिय सभामा दर्ता गरिएका थिए।

जारी गरिएका आठ अध्यादेशमध्ये हालसम्म चार वटा अध्यादेशलाई दुवै सदनले स्वीकृत गरेका छन् भने बाँकी अध्यादेशको प्रक्रिया अझै टुंगिएको छैन।

तपाईको प्रतिक्रिया