शनिबार ६ असार २०८३
अर्थ

मधेश सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजश्व संकलन

शनिबार असार ६, २०८३/ Saturday 06-20-26

जनकपुरधाम । मधेश प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनाको अवधिमा कुल ३० अर्ब १७ करोड १४ लाख ७३ हजार रुपैयाँ राजश्व संकलन गरेको छ। प्रदेश सरकारको अर्थ मन्त्रालयका अनुसार यस अवधिमा आन्तरिक स्रोतबाट मात्रै ४ अर्ब ५९ करोड ३३ लाख ८४ हजार रुपैयाँ राजश्व उठेको छ।

मन्त्रालयका सूचना अधिकारी अंशुकुमार झाका अनुसार प्रदेशको आन्तरिक आम्दानीको प्रमुख आधार घरजग्गा रजिष्ट्रेशन तथा सवारीसाधन कर रहेका छन्। समीक्षा अवधिमा घरजग्गा रजिष्ट्रेशन शुल्कबाट १ अर्ब १८ करोड १२ लाख ९५ हजार रुपैयाँ तथा सवारीसाधन करबाट २ अर्ब १ करोड ५० लाख ५० हजार रुपैयाँ राजश्व संकलन भएको छ।

त्यसैगरी, सवारी चालक अनुमतिपत्र वितरण र सवारी दर्ता दस्तुरबाट ६८ करोड ८२ लाख ७० हजार रुपैयाँ, यातायात क्षेत्रबाट ११ करोड १० लाख ५९ हजार रुपैयाँ तथा दहत्तर–बहत्तर बिक्रीबाट १० करोड ९ लाख ३५ हजार रुपैयाँ आम्दानी भएको मन्त्रालयले जनाएको छ।

प्रदेश सरकारले संघीय राजश्व बाँडफाँट अन्तर्गत प्राप्त हुने मूल्य अभिवृद्धि कर (भ्याट) बाट ७ अर्ब ७५ करोड ६४ लाख ९९ हजार रुपैयाँ र अन्तःशुल्क करबाट २ अर्ब ७७ करोड ४१ लाख रुपैयाँ प्राप्त गरेको जनाएको छ।

मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षको अन्त्यसम्म राजश्व संकलन लक्ष्य हासिल गर्न विभिन्न क्षेत्रबाट आय वृद्धि गर्ने प्रयासलाई तीव्र बनाएको जनाएको छ।

तपाईको प्रतिक्रिया