चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी महाधिवेशनमा ४ हजार २०० भन्दा बढी प्रतिनिधिको सहभागिता रहने भएको छ। केन्द्रीय सचिवालयले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार प्रतिनिधिको संख्या ४ हजार २१० पुग्ने अनुमान गरिएको छ।
सङ्गठन विभाग सचिव शङ्कर श्रेष्ठका अनुसार हालसम्मको प्रारम्भिक सूचीमा ३ हजार ८१० प्रतिनिधिको नाम समावेश गरिएको छ। विदेशस्थित २५ देशका प्रवास सम्पर्क विभागबाट करिब २०० प्रतिनिधि थपिने भएकाले कुल संख्या अझ बढ्ने देखिएको उनले बताए।
पार्टी विधानअनुसार सभापतिले २०० जना प्रतिनिधि मनोनयन गर्न सक्ने व्यवस्था रहेको छ। साथै, समूहगत रूपमा पार्टी प्रवेश गर्ने सदस्यहरूबाट पनि केही प्रतिनिधि थपिन सक्ने सम्भावना रहेको श्रेष्ठले जानकारी दिए।
प्रतिनिधिको सूचीमाथि दाबी–विरोध, दोहोरो नाम तथा छुटेका व्यक्तिको विवरण समेटेर अन्तिम नामावली सार्वजनिक गरिनेछ। आज बस्ने केन्द्रीय समिति बैठकमा सभापतिबाट मनोनयन गरिने प्रतिनिधिको नाम प्रस्तुत भएपछि साँझसम्म अन्तिम सूची तयार हुने अपेक्षा गरिएको छ।
प्रदेशगत रूपमा हेर्दा बागमती प्रदेशबाट सबैभन्दा बढी ७९० प्रतिनिधि रहनेछन्। त्यसपछि मधेसबाट ६३०, कोशीबाट ५२०, सुदूरपश्चिमबाट ५५०, लुम्बिनीबाट ४९०, गण्डकीबाट ४७० तथा कर्णालीबाट ३६० प्रतिनिधि सहभागी हुने प्रारम्भिक तथ्याङ्कमा उल्लेख छ।
महाधिवेशन प्रतिनिधिमा पालिका, क्षेत्र, जिल्ला र प्रदेश तहका विभिन्न पदाधिकारी तथा सदस्यहरू समावेश हुनेछन्। त्यस्तै, केन्द्रीय समितिका सदस्य, विभाग, आयोग तथा सल्लाहकार परिषद्का पदाधिकारीहरू पनि प्रतिनिधिका रूपमा रहने व्यवस्था गरिएको छ।
यसका साथै, प्रत्येक गाउँपालिकाबाट एक, नगरपालिकाबाट दुई, उपमहानगरपालिकाबाट तीन र महानगरपालिकाबाट चार प्रतिनिधि चयन गरिनेछ। प्रदेश तथा जिल्ला सम्पर्क विभागबाट पनि निर्धारित संख्यामा प्रतिनिधित्व रहनेछ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा रास्वपाबाट उपविजेता बनेका तथा समानुपातिक बन्दसूचीमा रहेका सक्रिय सदस्यहरूलाई पनि प्रतिनिधिको हैसियत दिइएको छ। केन्द्रीय समितिमा नरहेका प्रतिनिधिसभा सदस्यहरू समेत महाधिवेशनमा सहभागी हुन पाउनेछन्।
महाधिवेशनको उद्घाटन सत्र आइतबार भरतपुरस्थित गेष्टहाउस चौरमा आयोजना हुनेछ भने बन्दसत्र उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा सञ्चालन गरिनेछ। महाधिवेशनका लागि पार्टी सभापति रवि लामिछानेसहित शीर्ष नेताहरू चितवन पुगिसकेका छन्। प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह पनि आइतबार चितवन आउने कार्यक्रम रहेको छ।
तपाईको प्रतिक्रिया