काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापालाई पद तथा गोपनीयताको शपथ गराएका छन्।
सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा मन्त्री पोखरेलले थापालाई शपथ गराएका हुन्। त्यस्तै, त्रिवि सेवा आयोगका नवनियुक्त सदस्य प्रा. डा. रेजिना मास्केलाई अध्यक्ष थापाले पद तथा गोपनीयताको शपथ गराएका छन्।
शपथपछि अध्यक्ष थापाले निष्पक्ष, इमानदार र जिम्मेवार ढंगले आयोगको नेतृत्व गर्दै त्रिविमा कार्यरत प्राध्यापक तथा कर्मचारीको वृत्ति विकास, पेसागत दक्षता अभिवृद्धि र विश्वविद्यालयको संस्थागत सुधारका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले विश्वविद्यालयको गौरवलाई थप उचाइमा पुर्याउन आफ्नो कार्यकालभर निरन्तर प्रयास गर्ने बताए।
थापाले आफूलाई यस्तो जिम्मेवारी प्रदान गरेकोमा नेपाल सरकारप्रति आभार व्यक्त गर्दै बदलिँदो समयको चुनौतीअनुसार त्रिविको विकास र सुदृढीकरणमा योगदान दिने विश्वास व्यक्त गरे।
प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले अध्यक्ष सिफारिस समितिको सिफारिसका आधारमा थापालाई सेवा आयोगको अध्यक्षमा नियुक्त गरेका हुन्। समितिले आवेदन दिएका उम्मेदवारहरूको योग्यता, अनुभव, नेतृत्व क्षमता र अन्तर्वार्ताका आधारमा तीन जनाको नाम सिफारिस गरेको थियो।
नेपाल सरकारका पूर्वसचिव तथा वरिष्ठ सहरी योजनाविद् थापाले चार दशकभन्दा बढी समय निजामती सेवामा रहेर सहरी विकास, शिक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत विभिन्न मन्त्रालयमा सचिवका रूपमा जिम्मेवारी सम्हालेका छन्। उनले राष्ट्रिय आवास योजना, राष्ट्रिय सहरी विकास रणनीति, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम नीति र नेपाल पर्यटन वर्ष २०११ जस्ता महत्वपूर्ण सरकारी नीति तथा कार्यक्रमको निर्माण तथा कार्यान्वयनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।
भूकम्पपछिको पुनर्निर्माण अभियानमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिका विज्ञ सदस्यका रूपमा समेत योगदान दिएका थापा हाल नेपाल इन्स्टिच्युट अफ अर्बन एन्ड रिजनल स्टडिजमा सहरी योजना विज्ञ तथा काठमाडौं विश्वविद्यालयमा भिजिटिङ फ्याकल्टीका रूपमा आबद्ध रहेका थिए।
तपाईको प्रतिक्रिया