समूह विजेता बन्दै नेदरल्यान्ड्स अन्तिम ३२ मा, ट्युनिसियामाथि ३–१ को सहज जि
काठमाडौँ । नेदरल्यान्ड्सले ट्युनिसियालाई ३–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को समूह ‘एफ’ को विजेता बन्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ।
खेलको तेस्रो मिनेटमै ट्युनिसियाका कप्तान एलिस स्किरीको आत्मघाती गोलबाट अग्रता बनाएको नेदरल्यान्ड्सका लागि सातौँ मिनेटमा ब्रायन ब्रोबेले दोस्रो गोल थपे। दोस्रो हाफमा हाजेम मस्तौरीले ट्युनिसियाका लागि एक गोल फर्काए पनि जान पल भान हेक्केले हेडमार्फत गोल गर्दै नेदरल्यान्ड्सको ३–१ को जित पक्का गरे।
जितसँगै रोनाल्ड कोम्यानको टोली समूह विजेताका रूपमा अन्तिम ३२ मा प्रवेश गरेको छ। अब नेदरल्यान्ड्सले आगामी मंगलबार हुने नकआउट चरणमा समूह ‘सी’ को उपविजेता तथा २०२२ विश्वकपको सेमिफाइनलिस्ट मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ।
यता, ट्युनिसियाले समूह चरणका तीनै खेल गुमाउँदै प्रतियोगिताबाट निराशाजनक रूपमा बिदा लिएको छ। प्रतियोगिताभर १२ गोल खाएको ट्युनिसियाले एक पनि अंक जोड्न सकेन।
तपाईको प्रतिक्रिया