नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो, ४ अर्बमाथिको सेयर कारोबार
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ।
नेप्सेका अनुसार आज परिसूचक ८.७८ अंकले वृद्धि हुँदै २ हजार ६६१.७१ विन्दुमा पुगेको छ। ठूला कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३.८९ अंकले बढेर ४६२.४७ विन्दुमा कायम भएको छ।
यस्तै, फ्लोट इन्डेक्स ०.९९ अंकले उकालो लागेर १८२.६१ विन्दुमा पुगेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स १.३९ अंकले बढ्दै १५६.६८ विन्दुमा पुगेको नेप्सेले जनाएको छ।
बिहीबार ८९ लाख ६४ हजार २२३ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ११ करोड ७७ लाख ८५ हजार ७ सय रुपैयाँ पुगेको छ।
आज कारोबारमा आएका १३ उपसमूहमध्ये पाँच उपसमूहका सूचक बढेका छन् भने बाँकी आठ उपसमूहमा गिरावट देखिएको छ।
कारोबारका क्रममा अपर लोहोरे खोला हाइड्रोपावर, खलंगा हाइड्रोपावर, स्नोरिभर लिमिटेड र सानीगाड हाइड्रोपावरका लगानीकर्ताले उल्लेखनीय लाभ कमाए। यता, एनआईसी एसिया डिबेञ्चर, भुजुङ हाइड्रोपावर, सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र सीवाईसी लघुवित्त वित्तीय संस्थासहितका कम्पनीहरूको सेयर मूल्य भने घटेको छ।
तपाईको प्रतिक्रिया