काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई थप ६ दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका पौडेलको म्याद बिहीबार तेस्रो पटक थपिएको हो। न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासले थप ६ दिन हिरासतमा राख्न स्वीकृति दिएको हो।
यसअघि विशेष अदालतले असार ९ गते पहिलो पटक ७ दिन र असार १५ गते दोस्रो पटक ३ दिन हिरासतमा राख्न अनुमति दिएको थियो।
उता, हिरासतमा राख्ने आदेशपछि पौडेलकी पत्नी दोमाया पौडेलले आफ्ना श्रीमानलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।
उक्त रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ जारी छ। न्यायाधीश विनोद शर्मा र नित्यानन्द पाण्डेयको इजलासमा रिटमाथि बहस भइरहेको छ।
यसअघि मंगलबार न्यायाधीश टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको इजलासले व्यापारी दीपक भट्ट, सुलभ अग्रवाललगायतविरुद्ध दायर सम्पत्ति शुद्धीकरण, बैंकिङ कसुर, धितोपत्र तथा बीमासम्बन्धी कसुरका मुद्दाका फाइल विशेष अदालतबाट झिकाउन आदेश दिएको थियो। अदालतले ती फाइल इजलासमा देखाएर पुनः फिर्ता लैजाने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ।
यसअघि सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासले असार ११ गते विपक्षीका नाममा कारण देखाउन आदेश जारी गरेको थियो।
तपाईको प्रतिक्रिया