शुक्रबार १९ असार २०८३
राजनीति

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

बिहीबार असार १८, २०८३/ Thursday 07-02-26

काठमाडौं । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले विभिन्न नीतिगत, प्रशासनिक तथा नियुक्तिसम्बन्धी निर्णयहरू गरेको छ।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बैठकका निर्णय सार्वजनिक गर्दै संयुक्त राष्ट्रसंघको समुद्रसम्बन्धी कानुनअन्तर्गत ‘राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरको सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो उपयोग’ सम्बन्धी सम्झौता अनुमोदनका लागि संघीय संसद्मा पेस गर्न स्वीकृति प्रदान गरिएको जानकारी दिए।

बैठकले गृह मन्त्रालयको प्रस्तावअनुसार नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गर्ने निर्णय पनि गरेको छ।

यस्तै, पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धनकुटाका धर्मराज खड्का नियुक्त भएका छन्।

भूमि व्यवस्था मन्त्रालयले प्रस्ताव गरेको ‘कमैया श्रम निषेध गर्ने सम्बन्धी पहिलो संशोधन नियमावली, २०८३’ र शिक्षा मन्त्रालयले पेस गरेको ‘शिक्षा दशौं संशोधन नियमावली, २०८३’ लाई पनि मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ।

त्यसैगरी, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सिफारिसमा गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल तथा सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगानालाई नियुक्त गर्ने निर्णय गरिएको छ।

बैठकले ‘राष्ट्रिय सदाचार नीति, २०८३’ र ‘राष्ट्रिय विज्ञापन नीति, २०८३’ लाई समेत अनुमोदन गरेको छ।

निर्णय सार्वजनिक गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पोखरेलले मदिरा सेवनसम्बन्धी जरिवानाको व्यवस्था हाल प्रस्तावकै चरणमा रहेको र यसबारे सम्बन्धित मन्त्रालयले आवश्यक स्पष्टता दिने बताए।

उनले गृहमन्त्रीमाथि गठित छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्ने प्रक्रिया अन्तिम चरणमा रहेको र चाँडै सार्वजनिक गरिने जानकारी दिए। साथै, किसानलाई मल अभाव हुन नदिन सरकारले नीति, कार्यक्रम र बजेटमार्फत आवश्यक व्यवस्था गरिसकेको उल्लेख गर्दै समस्या क्रमशः समाधान हुँदै जाने विश्वास व्यक्त गरे।

तपाईको प्रतिक्रिया