शुक्रबार १९ असार २०८३
राजनीति

प्रतिनिधि सभाबाट सम्पत्ति शुद्धीकरण विधेयक पारित

बिहीबार असार १८, २०८३/ Thursday 07-02-26

काठमाडौं । प्रतिनिधिसभाले ‘सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ बहुमतले पारित गरेको छ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए। छलफलपछि बैठकले उक्त प्रस्तावलाई बहुमतका आधारमा स्वीकृत गरेको हो।

विधेयक पारित हुनुअघि सांसदहरूले दर्ता गराएका संशोधन प्रस्तावमाथि छलफल गरी निर्णयका लागि प्रस्तुत गरिएको थियो।

छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले सम्पत्ति शुद्धीकरण अनुसन्धान तथा नियन्त्रण प्रणालीलाई अझ प्रभावकारी बनाउन सरकारले आवश्यक कानुनी र संस्थागत सुधार अघि बढाइरहेको बताए।

उनका अनुसार सम्पत्ति शुद्धीकरणका मुद्दामात्र नभई समग्र आर्थिक अपराधको अनुसन्धान र कारबाहीलाई प्रभावकारी बनाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्तै अधिकार सम्पन्न ‘आर्थिक अपराध प्राधिकरण’ गठन गर्ने विषयमा पनि सरकारभित्र छलफल भइरहेको छ।

एउटै घटनामा विभिन्न निकायबाट छुट्टाछुट्टै अनुसन्धान हुँदा राज्यको खर्च बढ्ने, न्यायिक प्रक्रियामा अनावश्यक बोझ पर्ने तथा बिगो असुलीमा जटिलता सिर्जना हुने भएकाले त्यसलाई सम्बोधन गर्न कानुन संशोधन आवश्यक भएको मन्त्री वाग्लेले स्पष्ट पारे।

तपाईको प्रतिक्रिया