शनिबार २० असार २०८३
खेलकुद

संघर्षपूर्ण जितसँगै अर्जेन्टिना अन्तिम १६ मा, केप भर्डे ३–२ ले पराजित

शनिबार असार २०, २०८३/ Saturday 07-04-26

काठमाडौं । कप्तान लियोनेल मेसीको गोल र अतिरिक्त समयमा भएको आत्मघाती गोलको मद्दतमा अर्जेन्टिनाले रोमाञ्चक प्रतिस्पर्धामा केप भर्डेलाई ३–२ ले पराजित गर्दै फिफा विश्वकपको अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।

मियामीस्थित रंगशालामा सम्पन्न अन्तिम ३२ को खेल निकै प्रतिस्पर्धात्मक रह्यो, जसको निर्णय अतिरिक्त समयमा भएको थियो।

यो जितसँगै अर्जेन्टिनाले जुलाई ७ मा एटलान्टामा हुने अन्तिम १६ को खेलमा इजिप्टसँग प्रतिस्पर्धा गर्ने भएको छ।

अर्जेन्टिनाले खेलको २९औँ मिनेटमा मेसीको गोलमार्फत अग्रता बनाएको थियो। पहिलो हाफ १–० ले पछि परेको केप भर्डेले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै खेलमा फर्कियो।

५९औँ मिनेटमा डेरोय दुआर्टेले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। निर्धारित ९० मिनेटसम्म दुवै टोलीले थप गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा प्रवेश गरेको थियो।

अतिरिक्त समयको सुरुआतमै ९२औँ मिनेटमा लिसान्द्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई पुनः २–१ को अग्रता दिलाए। तर केप भर्डेले हार मानेन। १०३औँ मिनेटमा सिड्नी लोपेज काब्रालले गोल गर्दै खेललाई फेरि २–२ को बराबरीमा पुर्‍याए।

खेल पेनाल्टी प्रहारतर्फ अघि बढिरहेको अवस्थामा १११औँ मिनेटमा केप भर्डेका डिने बोर्गेसबाट आत्मघाती गोल हुन पुग्यो। यही गोल अर्जेन्टिनाको जितको निर्णायक आधार बन्यो।

केप भर्डेले बलियो अर्जेन्टिनाविरुद्ध सशक्त चुनौती प्रस्तुत गरे पनि अन्ततः अभागी साबित हुँदै विश्वकप यात्राबाट बाहिरियो। अब अर्जेन्टिनाले अन्तिम आठमा स्थान बनाउन अस्ट्रेलियालाई पराजित गर्दै आएको इजिप्टसँग प्रतिस्पर्धा गर्नेछ।

 

तपाईको प्रतिक्रिया