शनिबार २० असार २०८३
राजनीति

शासकीय सुधार कार्यसूचीको प्रगति ८७.२ प्रतिशत पुगेको सरकारको दाबी

शनिबार असार २०, २०८३/ Saturday 07-04-26

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारले शासकीय सुधारका लागि घोषणा गरेको १०० बुँदे कार्यसूचीको समग्र कार्यान्वयन प्रगति ८७.२ प्रतिशत पुगेको जनाएको छ।

शनिबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकारको १०० दिनको प्रमुख उपलब्धि सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले १०० बुँदे कार्यसूचीमध्ये ७० वटा बुँदा पूर्ण रूपमा कार्यान्वयन भइसकेको जानकारी दिए।

उनका अनुसार थप १७ वटा बुँदामा ८० प्रतिशतभन्दा बढी प्रगति हासिल भएको छ भने १३ वटा बुँदाको कार्यान्वयन प्रगति ६० प्रतिशतभन्दा कम रहेको छ।

सरकारले गत चैत १३ गते सार्वजनिक गरेको १०० बुँदे शासकीय सुधार कार्यसूचीमार्फत सरकारी कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही बनाउने लक्ष्य लिएको थियो। साथै, सार्वजनिक सेवा प्रवाहमा सुधार गर्दै नागरिकको दैनिक जीवनमा प्रत्यक्ष सकारात्मक प्रभाव पार्ने उद्देश्यसहित नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्ने घोषणा गरेको सरकारको भनाइ छ।

सरकारले १०० दिनको अवधिमा विभिन्न सुधारात्मक कार्यक्रम र नीतिगत निर्णयमार्फत कार्यसूची कार्यान्वयनलाई तीव्रता दिएको दाबी गरेको छ।

 

तपाईको प्रतिक्रिया