थाइल्याण्डमा बौद्ध तीर्थयात्रामा हिँडेका १० भिक्षुको पिकअप ट्रकको ठक्करबाट मृत्यु, चालक ११ वर्षीय बालक
काठमाडौं। थाइल्याण्डमा बौद्ध तीर्थयात्रामा हिँडेका भिक्षुको समूहलाई पिकअप ट्रकले ठक्कर दिँदा १० जना भि़क्षुको मृत्यु भएको छ। दुर्घटनामा अन्य चार जना घाइते भएका छन्। ट्रक ११ वर्षीय बालकले चलाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
दुर्घटना बिहीबार थाइल्याण्डको उत्तरपूर्वी क्षेत्रस्थित मुक्दाहान प्रान्तमा भएको हो। त्यसबेला ३४ जना बौद्ध भिक्षु मुक्दाहानबाट नजिकैको अर्को प्रान्ततर्फ तीर्थयात्रामा हिँडिरहेका थिए। दुर्घटनापछि घाइतेहरूलाई तत्काल नजिकैको अस्पतालमा उपचारका लागि लगिएको थियो।
दुर्घटनाबाट जोगिएका एक भिक्षुले ट्रक एक्कासि तीव्र गतिमा आफ्नो नजिक आइपुगेपछि आफू र अर्का एक वरिष्ठ भिक्षुले सडकछेउको नालीमा हाम फालेर ज्यान जोगाएको बताएका छन्।
प्रहरीका अनुसार ११ वर्षीय बालकले आफ्ना बुबाको पिकअप ट्रक अनुमति बिना चलाएका थिए। घटनापछि बालकलाई नियन्त्रणमा लिइएको छ भने दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया