काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ को अन्तिम ३२ (राउन्ड अफ ३२) का सबै खेल सम्पन्न भएसँगै अन्तिम १६ (प्रि–क्वार्टरफाइनल) को समीकरण पूरा भएको छ। शनिबार बिहान अन्तिम ३२ का खेल सकिएपछि नकआउट चरणको अर्को चरणमा पुग्ने सबै टोलीको टुंगो लागेको हो।
अन्तिम ३२ का खेलमा सहआयोजक क्यानडाले दक्षिण अफ्रिकालाई पराजित गर्दै अन्तिम १६ मा स्थान बनायो भने ब्राजिलले जापानलाई हरायो। यस्तै, पाराग्वेले चार पटकको पूर्वविजेता जर्मनीलाई स्तब्ध बनाउँदा मोरक्कोले नेदरल्यान्ड्सलाई हरायो। नर्वेले आइभरी कोस्ट तथा फ्रान्सले स्वीडेनलाई पराजित गर्दै अर्को चरणमा प्रवेश गरे।
त्यसैगरी, मेक्सिकोले इक्वेडर, इंग्ल्यान्डले कङ्गो, बेल्जियमले सेनेगल, अमेरिकाले बोस्निया एन्ड हर्जगोभिना, स्पेनले अस्ट्रिया, पोर्चुगलले क्रोएसिया तथा स्विट्जरल्यान्डले अल्जेरियालाई हराउँदै अन्तिम १६ मा स्थान सुरक्षित गरे।
शनिबार बिहान सम्पन्न अन्य खेलमा इजिप्टले अस्ट्रेलियालाई, अर्जेन्टिनाले केप भर्डेलाई तथा कोलम्बियाले घानालाई पराजित गर्दै अन्तिम १६ मा आफ्नो स्थान पक्का गरेका छन्।
यस चरणबाट चार पटकको विश्वविजेता जर्मनी, गत संस्करणको तेस्रो स्थान प्राप्त टोली क्रोएसिया, उपाधि दाबेदार नेदरल्यान्ड्स, एसियाली शक्ति जापान तथा अफ्रिकाको बलियो टोली सेनेगलजस्ता चर्चित राष्ट्रहरू प्रतियोगिताबाट बाहिरिएका छन्।
अन्तिम १६ का खेल तालिका
- क्यानडा vs मोरक्को – आज राति १०ः४५ बजे
- पाराग्वे vs फ्रान्स – आइतबार बिहान २ः४५ बजे
- ब्राजिल vs नर्वे – सोमबार बिहान १ः४५ बजे
- मेक्सिको vs इंग्ल्यान्ड – सोमबार बिहान ५ः४५ बजे
- पोर्चुगल vs स्पेन – मंगलबार बिहान १२ः४५ बजे
- अमेरिका vs बेल्जियम – मंगलबार बिहान ५ः४५ बजे
- अर्जेन्टिना vs इजिप्ट – मंगलबार राति ९ः४५ बजे
- स्विट्जरल्यान्ड vs कोलम्बिया – बुधबार बिहान १ः४५ बजे
अब विश्वकपको उपाधि दौड थप रोमाञ्चक हुने अपेक्षा गरिएको छ, जहाँ अन्तिम १६ का विजेता टोलीहरू क्वार्टरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन्।
तपाईको प्रतिक्रिया