एम्बाप्पेको दुई गोलमा फ्रान्स अन्तिम १६ मा, स्विडेन ३–० ले पराजित
काठमाडौँ । स्टार फरवार्ड किलियन एम्बाप्पेको उत्कृष्ट प्रदर्शनमा फ्रान्सले स्विडेनलाई ३–० ले पराजित गर्दै फिफा विश्वकप फुटबल प्रतियोगिताको अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।
अमेरिकाको न्यूयोर्कस्थित न्यूजर्सी रङ्गशालामा भएको खेलमा फ्रान्सले सुरुदेखि नै खेलमा दबाब कायम राख्दै स्विडेनमाथि सहज जित निकाल्यो। यससँगै फ्रान्सले क्वार्टरफाइनल प्रवेशका लागि अन्तिम १६ मा पाराग्वेसँग प्रतिस्पर्धा गर्ने भएको छ।
फ्रान्सको जितमा किलियन एम्बाप्पेले दुई तथा ब्राडली बारकोलाले एक गोल गरे। पहिलो हाफको इन्जुरी समयमा (४५औँ मिनेट) एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए।
दोस्रो हाफ सुरु भएको आठ मिनेटमै, खेलको ५३औँ मिनेटमा बारकोलाले गोल थप्दै फ्रान्सको अग्रता २–० मा पुर्याए। त्यसपछि ७४औँ मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सको ३–० को प्रभावशाली जित सुनिश्चित गरे।
पूरै खेलमा स्विडेनले फ्रान्सको रक्षापङ्क्तिमाथि उल्लेखनीय दबाब सिर्जना गर्न सकेन भने फ्रान्सले खेलको अधिकांश समय नियन्त्रणमा राख्दै सहज विजय हासिल गर्यो।
यसअघि अन्तिम ३२ अन्तर्गत नै सम्पन्न अर्को खेलमा नर्वेले आइभरी कोस्टलाई २–१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाइसकेको छ। यस्तै, आज बिहान ६:४५ बजे मेक्सिको र इक्वेडोरबीच अन्तिम १६ प्रवेशका लागि प्रतिस्पर्धा हुने तालिका रहेको छ।
तपाईको प्रतिक्रिया