आइतबार २१ असार २०८३
समाज

डोल्पाको जगदुल्लामा रातिको बाढीले लियो एक महिलाको ज्यान, ६ जना घाइते

आइतबार असार २१, २०८३/ Sunday 07-05-26

डोल्पा। डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा आइतबार राति आएको लेदोसहितको बाढीमा परी एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

अविरल वर्षापछि राति करिब ३ बजे धुलाखोला तथा आसपासका खोल्साबाट आएको लेदोसहितको बाढी गाउँमा पसेर ठूलो क्षति पुर्‍याएको हो। स्थानीय बासिन्दा निदाइरहेका बेला अचानक बाढी गाउँमा प्रवेश गर्दा मानवीय क्षति भएको प्रहरीले जनाएको छ।

बाढीमा परी स्थानीय ५६ वर्षीया आनन्दी विकको घटनास्थलमै मृत्यु भएको छ। घटनामा घाइते भएका ६ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा स्थानीयवासीले सोमबार बिहानदेखि उद्धार तथा राहत कार्यलाई तीव्र बनाएका छन्।

 

तपाईको प्रतिक्रिया