सञ्चारमन्त्रीको स्पष्टीकरण : सरकारले प्रेस स्वतन्त्रता संकुचन गर्ने कुनै नीति लिएको छैन
काठमाडौं ।सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले प्रेस स्वतन्त्रतामाथि कुनै प्रकारको अंकुश लगाउने नीति नलिएको स्पष्ट पारेका छन्।
आइतबार काठमाडौंमा नेपाल पत्रकार महासंघद्वारा आयोजित कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले प्रेस स्वतन्त्रता संविधानद्वारा सुनिश्चित मौलिक अधिकार भएकाले यसको संरक्षणप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए।
उनले सरकार प्रेस स्वतन्त्रतामा हस्तक्षेप गर्ने वा त्यसलाई सीमित गर्ने पक्षमा नरहेको उल्लेख गर्दै स्वतन्त्र, जिम्मेवार र मर्यादित पत्रकारिताले लोकतन्त्रलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे।
मन्त्री तिमिल्सिनाले प्रेस स्वतन्त्रता भनेको स्वच्छन्दता नभई संविधान र कानुनको दायराभित्र रहेर तथ्यमा आधारित, निष्पक्ष र उत्तरदायी पत्रकारिता गर्नु रहेको स्पष्ट पारे। उनले सञ्चारमाध्यमले स्वतन्त्रतासँगै व्यावसायिक आचारसंहिता, जवाफदेहिता तथा सामाजिक उत्तरदायित्वलाई समान रूपमा आत्मसात् गर्नुपर्नेमा जोड दिए।
उनका अनुसार प्रेस स्वतन्त्रताको संरक्षण लोकतान्त्रिक शासन व्यवस्थाको आधारभूत पक्ष हो। सरकारले सञ्चार क्षेत्रको स्वतन्त्रता, पत्रकारको सुरक्षा तथा पेशागत वातावरण सुनिश्चित गर्न निरन्तर पहल गरिरहेको पनि उनले बताए।
सरकारी विज्ञापनलाई अधिकारका रूपमा नहेर्न आग्रह गर्दै मन्त्री तिमिल्सिनाले यस विषयलाई संवाद र छलफलमार्फत समाधान गर्नुपर्ने धारणा व्यक्त गरे।
कार्यक्रममा सञ्चार क्षेत्रका प्रतिनिधि, पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
तपाईको प्रतिक्रिया