आइतबार २१ असार २०८३
राजनीति

अध्यागमन कर्मचारीलाई कार्यालय समयमा ढाका टोपी अनिवार्य गर्न गृहमन्त्रीको निर्दे

आइतबार असार २१, २०८३/ Sunday 07-05-26

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीलाई कार्यालय समयमा अनिवार्य रूपमा ढाका टोपी लगाउन निर्देशन दिएका छन्।

स्रोतका अनुसार शुक्रबार राति विमानस्थलको निरीक्षण तथा अनुगमनका क्रममा गृहमन्त्री गुरुङले नेपाली मौलिकता र राष्ट्रिय पहिचान झल्किने गरी अध्यागमन कर्मचारीले कार्यालय समयमा ढाका टोपी लगाउनुपर्ने निर्देशन दिएका हुन्।

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नेपाल प्रवेश गर्ने विदेशी नागरिकले सबैभन्दा पहिले देख्ने स्थान भएकाले अध्यागमन कर्मचारीको पोसाक, व्यवहार र सेवा–प्रवाहले देशको छवि निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए।

गृहमन्त्री गुरुङले सेवाग्राहीमैत्री, अनुशासित र मर्यादित सेवा प्रवाह सुनिश्चित गर्दै नेपाली संस्कृति, मौलिकता र राष्ट्रिय पहिचानलाई प्रवर्द्धन गर्ने उद्देश्यले उक्त निर्देशन दिइएको जनाइएको छ।

यसअघि सरकारले ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका, २०८१’ जारी गरेको थियो। निर्देशिकाको दफा ५ मा सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी व्यवस्था गरिएको छ।

निर्देशिकाको दफा ५(१) अनुसार सार्वजनिक निकायमा कार्यरत कर्मचारी तथा पदाधिकारीले उपलब्ध भएसम्म स्वदेशी उद्योगबाट उत्पादित पोशाक प्रयोग गर्नुपर्ने उल्लेख छ। त्यस्तै, दफा ५(२) मा सार्वजनिक निकायका पदाधिकारीले उपहार प्रदान गर्दा पनि स्वदेशी वस्तुको प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ।

 

तपाईको प्रतिक्रिया