आइतबार २१ असार २०८३
खेलकुद

विश्वकपमा नर्वे र ब्राजिलको रोचक भीडन्त आज हुँदै

आइतबार असार २१, २०८३/ Sunday 07-05-26

काठमाडौं। विश्वकप फुटबलको नकआउट चरण अन्तर्गत राउण्ड अफ १६ मा आज राति पाँच पटकको विश्व विजेता ब्राजिल र युरोपेली टोली नर्वेबीच रोमाञ्चक प्रतिस्पर्धा हुँदैछ।

नेपाली समयअनुसार राति १:४५ बजे न्यू जर्सी स्टेडियममा हुने यस खेलमा ब्राजिलका स्टार फरवार्ड भिनिसियस जुनियर र नर्वेका गोल मेसिन एर्लिङ हालान्डबीचको प्रतिस्पर्धा विशेष आकर्षण रहने अपेक्षा गरिएको छ।

विश्व फुटबलमा गौरवशाली इतिहास बोकेको ब्राजिलका लागि नर्वे भने सधैँ चुनौतीपूर्ण प्रतिद्वन्द्वी रहँदै आएको छ। यी दुई टोलीबीच यसअघि भएका चार भेटमध्ये ब्राजिलले एक खेल पनि जित्न सकेको छैन। नर्वेले दुई खेल आफ्नो पक्षमा पारेको छ भने बाँकी दुई खेल बराबरीमा सकिएका छन्। यसपटक ब्राजिल पाँचौँ भेटमा इतिहास बदल्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ।

मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीको नेतृत्वमा रहेको ब्राजिलले अन्तिम ३२ को खेलमा जापानलाई संघर्षपूर्ण रूपमा पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको हो। समूह ‘सी’ को विजेताका रूपमा अघि बढ्ने क्रममा ब्राजिलले स्कटल्यान्ड र हाइटीलाई हराएको थियो भने मरोक्कोसँग बराबरी खेलेको थियो।

यता, समूह ‘आई’ को उपविजेता बनेर नकआउट चरणमा पुगेको नर्वेले समूह चरणमा इराक र सेनेगललाई हराएको थियो भने फ्रान्ससँग पराजित भएको थियो। अन्तिम ३२ को खेलमा नर्वेले आइभोरी कोस्टलाई पाखा लगाउँदै अन्तिम १६ मा स्थान सुरक्षित गरेको थियो।

विश्वकपमा पहिलो सहभागिता जनाइरहेका २५ वर्षीय एर्लिङ हालान्ड नर्वेका सबैभन्दा भरपर्दा खेलाडी हुन्। उनले जारी प्रतियोगितामा पाँच गोल गरिसकेका छन्। उता, ब्राजिलका भिनिसियस जुनियरले चार गोल गर्दै टोलीको आक्रमणको नेतृत्व गरिरहेका छन्।

आजको खेलमा विजयी हुने टोलीले आगामी शनिबार मियामीमा हुने क्वार्टरफाइनलमा मेक्सिको र इङ्गल्यान्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

 

तपाईको प्रतिक्रिया