काठमाडौँ । राहदानी विभागले नयाँ प्रणालीमार्फत राहदानी सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। विभागका अनुसार नयाँ प्रणालीबाट छापिएका राहदानी सोमबार (असार २९) देखि सेवाग्राहीलाई वितरण गर्न थालिएको हो।
विभागले त्रिपुरेश्वरस्थित आफ्नै कार्यालयमा राहदानी छपाइ गरी सेवा प्रवाह सुरु गरेको जनाएको छ। नयाँ राहदानी बनाउन, म्याद सकिएको राहदानी नवीकरण गर्न वा अन्य आवश्यकताका लागि सेवाग्राहीले आफ्नो स्थायी बसोबास रहेको जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, राहदानी विभाग तथा विदेशस्थित नेपाली नियोगमार्फत पहिलेकै प्रक्रियाअनुसार सेवा लिन सक्ने विभागले स्पष्ट पारेको छ।
सोमबार जारी गरिएको विज्ञप्तिमा नयाँ प्रणाली पूर्ण रूपमा स्थिर हुन करिब तीन महिना लाग्ने उल्लेख गर्दै यस अवधिमा सामान्य प्राविधिक समस्या देखिन सक्ने जनाइएको छ। यद्यपि, त्यस्ता समस्याका बाबजुद राहदानी सेवा नियमित, सहज र अविरल रूपमा उपलब्ध गराइने विभागले विश्वास व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया