प्रधानमन्त्री वालेन्द्र शाह भारत भ्रमणमा जाँदै, मोदीसँग भोलि द्विपक्षीय वार्ता हुने
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा दुईदिने राजकीय भ्रमणका लागि आज दिउँसो भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्दैछन्।
प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि शाहको यो पहिलो छिमेकी मुलुकको राजकीय भ्रमण हो। भ्रमणका क्रममा उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ।
त्यस्तै, प्रधानमन्त्री शाहले सोमबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नेछन्। वार्तामा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने तथा आर्थिक र विकास साझेदारी विस्तार गर्ने विषयमा छलफल हुने जनाइएको छ।
प्रधानमन्त्री शाहले सोमबार नै नयाँ दिल्लीस्थित राजघाटमा पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्नेछन्। यसअघि आजै भारतीय विदेशमन्त्री डा. एस जयशङ्करले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ।
भ्रमणका क्रममा नेपाल र भारतबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसँग सम्बन्धित सम्पन्न परियोजनाहरूको उद्घाटन र नयाँ परियोजनाहरूको शिलान्यास गर्ने कार्यक्रमसमेत रहेको छ।
दुवै देशका नेतृत्वबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुनेछ। साथै शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन तथा मानव संसाधन विकासलगायतका क्षेत्रमा सहकार्यसम्बन्धी विभिन्न समझदारीपत्र (एमओयू) आदानप्रदान गरिने तयारी छ।
यसैगरी, भ्रमणका क्रममा नेपाल–भारत बिजनेस फोरमको छलफल कार्यक्रम पनि आयोजना हुनेछ। उक्त कार्यक्रममा प्रधानमन्त्री शाहले भारतीय व्यवसायी समुदायलाई सम्बोधन गर्दै नेपालमा लगानीका सम्भावना, सरकारको नीतिगत प्राथमिकता तथा विदेशी लगानी आकर्षित गर्न चालिएका प्रयासबारे जानकारी गराउनेछन्।
नेपाली तथा भारतीय व्यवसायीबीच सहकार्य र लगानीका नयाँ अवसर सिर्जना गर्ने उद्देश्यले आयोजना हुन लागेको उक्त कार्यक्रमबाट दुई देशबीचको आर्थिक साझेदारी थप विस्तार हुने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारसहित उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी तथा सञ्चारकर्मी सहभागी हुनेछन्।
तपाईको प्रतिक्रिया