प्रधानमन्त्री बालेन र भारतीय समकक्षी मोदीबीच आज भेटवार्ता हुँदै, यस्ता छन् छलफलका मुख्य एजेन्डा
नयाँदिल्ली । भारतको दुईदिने राजकीय भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन्।
प्रधानमन्त्री शाह र मोदीबीच आज एक्लाएक्लै तथा प्रतिनिधिमण्डलस्तरीय वार्ता हुने कार्यक्रम छ। भेटवार्ताका क्रममा नेपाल–भारत सम्बन्धका विविध आयाम तथा द्विपक्षीय सहकार्यका महत्वपूर्ण विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
दुई देशका प्रधानमन्त्रीले नयाँ दिल्लीबाट उत्तर प्रदेशको अयोध्या हुँदै नेपालको जनकपुरधाम जोड्ने नयाँ साप्ताहिक रेल सेवा ‘सरयू–कमला एक्सप्रेस’ को भर्चुअल माध्यमबाट संयुक्त रूपमा शुभारम्भ गर्ने कार्यक्रमसमेत रहेको छ।
गत मार्च २७ मा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि शाहको यो पहिलो द्विपक्षीय विदेश भ्रमण हो। यद्यपि, उनी यसअघि सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क पुगेका थिए।
नेपालका नवनिर्वाचित प्रधानमन्त्रीले पहिलो औपचारिक द्विपक्षीय विदेश भ्रमणका रूपमा भारत जाने परम्परा रहँदै आएको छ। तर, यो परम्परा अनिवार्य भने होइन। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२४ मा पहिलो विदेश भ्रमण चीनबाट गरेर उक्त परम्पराभन्दा फरक अभ्यास गरेका थिए।
के–के छन् प्रधानमन्त्री बालेनको भ्रमणका मुख्य एजेन्डा?
भ्रमणका क्रममा प्रधानमन्त्री शाहलाई भारतको राष्ट्रपति भवनमा औपचारिक स्वागत गरिनेछ। त्यसपछि उनले राजघाट पुगेर महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ। उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग पनि शिष्टाचार भेटवार्ता गर्नेछन्।
त्यसअघि हैदराबाद हाउसमा प्रधानमन्त्री मोदीसँग करिब ३० मिनेटको एक्लाएक्लै भेटवार्ता हुनेछ। त्यसपछि दुवै देशका प्रतिनिधिमण्डलबीच औपचारिक छलफल हुने र विभिन्न समझदारीपत्र तथा संयुक्त वक्तव्य आदानप्रदान गरिने कार्यक्रम रहेको छ।
द काठमाडौं पोस्टको समाचारअनुसार भेटवार्तामा नेपालले लामो समयदेखि उठाउँदै आएको भारतीय हवाई क्षेत्र प्रयोग गरी थप हवाई प्रवेशमार्ग उपलब्ध गराउने माग, विपद्पछिको पुनर्निर्माणमा भारतीय सहयोग तथा द्विपक्षीय सहकार्यका अन्य विषयले प्राथमिकता पाउने अपेक्षा गरिएको छ
नेपालले विशेषगरी भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन तथा अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारका लागि भारतीय हवाई क्षेत्र हुँदै थप प्रवेशमार्ग उपलब्ध गराउन आग्रह गर्दै आएको छ।
त्यस्तै, बाढीपहिरोबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र पूर्वाधार विकासका लागि नेपालले भारतसँग उल्लेख्य आर्थिक सहयोगको अपेक्षा गरेको छ। गत अगस्ट २६ मा भोटेकोशी–रसुवा क्षेत्रमा आएको विनाशकारी बाढीपछि पुनर्निर्माण तथा पुनःस्थापनाका लागि नेपालले भारतसँग करिब दुई अर्ब अमेरिकी डलर बराबरको अनुदान तथा सहुलियतपूर्ण ऋण सहयोग मागेको समाचारमा उल्लेख छ।
ऊर्जा सहकार्य र जलविद्युत्मा भारतीय लगानी पनि प्राथमिकतामा
नेपाल र भारतबीच ऊर्जा क्षेत्रको सहकार्य पनि आजको भेटवार्ताको महत्वपूर्ण एजेन्डा हुने अपेक्षा गरिएको छ।
नेपालले भारतमा विद्युत् निर्यात विस्तार गर्ने लक्ष्य राखेको छ भने भारतले नेपालको जलविद्युत् क्षेत्रमा लगानी बढाउन चासो देखाउँदै आएको छ। यस विषयमा दुई देशबीच विद्युत् व्यापार, जलविद्युत् आयोजना विकास तथा ऊर्जा पूर्वाधार विस्तारका सम्भावनाबारे छलफल हुन सक्नेछ।
व्यवसायीसमेत भ्रमण टोलीमा सहभागी
प्रधानमन्त्री शाहको भ्रमण टोलीमा कम्तीमा चार जना मन्त्री सहभागी रहेको बताइएको छ। टोलीमा परराष्ट्र, अर्थ, भौतिक पूर्वाधार, पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा तथा जलस्रोत क्षेत्रका मन्त्रीहरू सहभागी हुन सक्नेछन्।
त्यस्तै, भारतसँग व्यापारिक सम्बन्ध विस्तार, निजी क्षेत्रबीच सहकार्य तथा लगानीका नयाँ अवसर खोज्ने उद्देश्यले केही नेपाली व्यवसायी तथा उद्योगीसमेत भ्रमण टोलीमा सहभागी भएका छन्। उनीहरूले भारतीय निजी क्षेत्रका प्रतिनिधिहरूसँग छुट्टै छलफल गर्ने कार्यक्रम रहेको छ।
भारतीय राष्ट्रपतिसँगको भेटवार्तापछि प्रधानमन्त्री शाह आजै साँझ स्वदेश फर्किने कार्यक्रम छ।
तपाईको प्रतिक्रिया