नेपाल बैंक र फोनपेबीच भर्चुअल क्रेडिट कार्ड सेवा सञ्चालन गर्ने सम्झौता
काठमाडौं । नेपाल बैंक लिमिटेड र फोनपे पेमेन्ट सर्भिस लिमिटेडबीच ग्राहकलाई आधुनिक, सहज तथा डिजिटल वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले भर्चुअल क्रेडिट कार्ड सेवा सञ्चालनसम्बन्धी सम्झौता भएको छ।
सम्झौताअनुसार नेपाल बैंकका ग्राहकले बैंकको मोबाइल बैंकिङ एपमार्फत भर्चुअल क्रेडिट कार्डका लागि सहज रूपमा आवेदन दिन सक्नेछन्। २०८३ मंसिर १० गते काठमाडौंको न्युरोडस्थित नेपाल बैंकको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा सम्झौतापत्रमा बैंकका प्रमुख सञ्चालन अधिकृत लेखनाथ भुसाल र फोनपेका प्रमुख व्यवसाय अधिकृत सुमित दासले हस्ताक्षर गरेका हुन्।
यस सेवामार्फत ग्राहकले नगदरहित कारोबारलाई थप सहज, सुरक्षित र प्रभावकारी रूपमा प्रयोग गर्न सक्ने बैंकले विश्वास लिएको छ। फोनपे भर्चुअल क्रेडिट कार्डमा सहज आवेदन प्रक्रिया, व्यापक भुक्तानी सुविधा, रियल टाइम ट्र्याकिङ, ४५ दिनसम्म ब्याजरहित अवधि तथा लचिलो भुक्तानी विकल्पजस्ता सुविधा उपलब्ध हुनेछन्।
यस सहकार्यले नेपाल बैंकको डिजिटल बैंकिङ सेवा तथा वित्तीय पहुँच विस्तार गर्नुका साथै ग्राहकलाई आधुनिक भुक्तानी प्रणालीसँग जोड्न महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। साथै, ग्राहक अनुभव अभिवृद्धि गर्न पनि यो सेवाले सकारात्मक भूमिका खेल्ने बैंकको विश्वास छ।
नेपाल बैंक लिमिटेडले प्रविधिमैत्री, सरल, सहज र ग्राहकमुखी बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धताअनुरूप नवीनतम डिजिटल बैंकिङ सेवाहरू विस्तार गर्दै आएको जनाएको छ।
बैंकले हाल देशभर २३० शाखा, २५० एटीएम तथा ५७ एक्सटेन्सन काउन्टरमार्फत २९ लाखभन्दा बढी ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ। बैंकका अनुसार करिब १६ लाख ग्राहक डिजिटल बैंकिङ सेवाबाट लाभान्वित भएका छन्।
समयानुकूल छिटोछरितो, गुणस्तरीय तथा प्रभावकारी ग्राहक सेवा प्रदान गर्ने लक्ष्यसहित युवा तथा दक्ष जनशक्तिमार्फत बैंकिङ सेवालाई थप प्रविधिमैत्री बनाउँदै लगिएको बैंकले जनाएको छ।
तपाईको प्रतिक्रिया