बागमती सरकारबाट एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा
काठमाडौं । बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) का सबै ६ जना मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। उनीहरूले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष संयुक्त रूपमा राजीनामा बुझाएका हुन्।
एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्रीलाई पठाएको पत्रमा नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम पार्टीको निर्णय तथा विकसित राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै सरकारमा सहभागी एमालेका सबै मन्त्रीले आजकै मितिदेखि लागू हुने गरी पदबाट राजीनामा दिएको उल्लेख गरिएको छ।
राजीनामा दिने मन्त्रीहरूमा कृषि, पशुपन्छी तथा वन–वातावरण मन्त्री मधुसुदन पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा, उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयअन्तर्गत यातायात हेर्ने मन्त्री जयराम थापा, कृषि मन्त्रालयअन्तर्गत वन तथा वातावरण हेर्ने मन्त्री भरतबहादुर केसी, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य हेर्ने मन्त्री किरण थापा तथा उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री बिन्दु श्रेष्ठ रहेका छन्।
बागमती प्रदेशमा २०८१ साल साउनदेखि नेपाली कांग्रेस र नेकपा (एमाले) को संयुक्त सरकार सञ्चालन हुँदै आएको थियो। करिब दुई वर्षसम्म सहकार्यमा सरकार चलाएको एमालेले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ।
एमालेको समर्थन फिर्तासँगै बागमती प्रदेशको सत्ता समीकरणमा नयाँ राजनीतिक मोड आएको छ। अब मुख्यमन्त्री बानियाँले विश्वासको मत लिनुपर्ने वा नयाँ सत्ता समीकरण निर्माण हुने सम्भावनाबारे चासो बढेको छ।
तपाईको प्रतिक्रिया