बिहीबार ७ श्रावण २०८३
खेलकुद

भदौ १८ मा एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड, ९ विधामा सम्मान प्रदान गरिने

बुधबार श्रावण ६, २०८३/ Wednesday 07-22-26

काठमाडौं। नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २३औँ संस्करण आगामी भदौ १८ गते काठमाडौंमा आयोजना हुने भएको छ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले बुधबार पत्रकार सम्मेलन गर्दै यस वर्षको अवार्ड समारोह (प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबको ‘द ब्लु प्याभिलियन)मा आयोजना गरिने जानकारी दिएको हो।

सोही अवसरमा मञ्च र मुख्य प्रायोजक गोल्छा ग्रुपबीच ४५ लाख रुपैयाँ बराबरको प्रायोजन सम्झौता पनि भएको छ। सम्झौतापत्रमा मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले हस्ताक्षर गरेका छन्। गोल्छा ग्रुप लगातार १९औँ वर्ष अवार्डसँग आबद्ध रहेको छ।

निर्देशक अभिमन्यु गोल्छाले यस वर्ष १७ लाख रुपैयाँ नगद पुरस्कार तथा पाँच वटा मोटरसाइकल प्रदान गरिने जानकारी दिँदै खेलाडी र खेलकर्मीलाई सम्मान तथा प्रोत्साहन गर्ने उद्देश्यले अवार्डलाई निरन्तर सहयोग गर्दै आएको बताए।

मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड नेपाली खेलकुद क्षेत्रकै प्रतिष्ठित सम्मान भएको उल्लेख गरे। महासचिव अन्जन खड्काका अनुसार यस वर्ष ९ विधामा उत्कृष्ट खेलाडी, प्रशिक्षक तथा खेलकर्मीलाई सम्मान गरिनेछ।

 

तपाईको प्रतिक्रिया