काठमाडौं। शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल फेरि पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनलाई काठमाडौं महानगरपालिका–३० डिल्लीबजारबाट पक्राउ गरेको हो।
सीआईबीका प्रवक्ता एसएसपी अनुप शमशेर जबराका अनुसार अग्रवाललाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत उच्च अदालत पाटनमा विचाराधीन रहेको मुद्दामा पक्राउ गरिएको हो।
नेपाल राष्ट्र बैंकको जाहेरीका आधारमा दर्ता भएको दीपक भट्टसमेत प्रतिवादी रहेको बैंकिङ कसुर मुद्दामा फरार रहेका अग्रवाललाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रियाका लागि उच्च अदालत पाटनमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।
यसअघि पनि अग्रवाललाई सीआईबीले गत चैत २० गते सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ गरेको थियो। उक्त प्रकरणमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरेको थियो। उनी दुई दिन जिल्ला प्रहरी कार्यालय ललितपुरको हिरासतमा बसेपछि चैत २२ गते रिहा भएका थिए।
तपाईको प्रतिक्रिया