आइतबार २४ श्रावण २०८३
माैसम

मनसुन सक्रिय: कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

मंगलबार श्रावण १९, २०८३/ Tuesday 08-04-26

काठमाडौं।  देशका विभिन्न क्षेत्रमा आज पनि भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।

विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा औसत अवस्थाभन्दा केही उत्तरतर्फ सर्दै नेपालको तराई भूभाग नजिक सक्रिय रहेकाले केही स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको हो।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।

यस्तै, रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै मधेश प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

विभागका अनुसार आज देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी भूभागका धेरै स्थान तथा तराईका केही क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। साथै, हिमाली क्षेत्रका केही स्थानमा वर्षासँगै हल्कादेखि मध्यम हिमपातसमेत हुन सक्ने जनाइएको छ।

भारी वर्षाका कारण बाढी, पहिरो, डुबान तथा सडक यातायात प्रभावित हुन सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा आवश्यक सावधानी अपनाउन विभागले सर्वसाधारणलाई अनुरोध गरेको छ।

 

तपाईको प्रतिक्रिया