काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि तय गरिएको ठूलो सैन्य आक्रमण अन्तिम समयमा स्थगित गरिएको र सोमबारदेखि दुवै देशबीच पुनः वार्ता सुरु हुने बताएका छन्।
न्युजर्सीस्थित आफ्नो गल्फ क्लबबाट फर्किने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले सैन्य आक्रमणका सबै तयारी पूरा भए पनि मित्रराष्ट्रहरूको आग्रहपछि युद्धको बाटो त्यागेर कूटनीतिक समाधान रोजिएको बताए। उनका अनुसार साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), कतार तथा इरानबाट समेत सम्झौताको प्रयासलाई प्राथमिकता दिन दबाब आएपछि आक्रमण रोकिएको हो।
ट्रम्पले आक्रमणको विस्तृत योजना सार्वजनिक नगरे पनि अब वार्तामार्फत समाधान खोजिने स्पष्ट पारे। उनले हालको प्राथमिकता हार्मुज जलमार्गको सुरक्षा र इरानको निशस्त्रीकरणसम्बन्धी दीर्घकालीन सम्झौतामा पुग्नु रहेको बताए।
यसबीच साउदी युवराज मोहम्मद बिन सलमानले पनि ट्रम्पसँग टेलिफोन संवाद गर्दै क्षेत्रीय तनाव नबढाउन र वार्तालाई अघि बढाउन आग्रह गरेको साउदी सरकारी समाचार संस्थाले जनाएको छ।
उता, इरानी विदेशमन्त्री अब्बास अराक्ची र विदेश मन्त्रालयका प्रवक्ता इस्मायल बघाईले पनि वार्ता सकारात्मक दिशामा अघि बढिरहेको संकेत दिएका छन्। यद्यपि, हार्मुज जलमार्गमा शुल्क व्यवस्थापन, शुल्कको दर र आवागमनसम्बन्धी विषयमा अझै सहमति हुन बाँकी रहेको बताइएको छ।
यसअघि गत जुनमा युद्ध अन्त्यका लागि दुवै पक्षबीच युद्धविरामसम्बन्धी समझदारी भएको थियो। तर हार्मुज जलमार्गको नियन्त्रण र सुरक्षालाई लिएर पुनः तनाव बढेपछि उक्त सहमति कार्यान्वयन हुन नसकेको थियो।
तपाईको प्रतिक्रिया