आइतबार २४ श्रावण २०८३
समाज

बाढी–पहिरोले देशभरका सडक प्रभावित, बीपी र कान्ति लोकपथको यात्रामा रोक

आइतबार श्रावण २४, २०८३/ Sunday 08-09-26

काठमाडौं। अविरल वर्षासँगै आएको बाढी, पहिरो र सडक कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार सिन्धुपाल्चोक, इलाम, रसुवा, तेह्रथुम र रुकुम पश्चिमका विभिन्न सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्।

बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा बाढीको जोखिमका कारण बेलुकी ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। कान्ति लोकपथमा पनि बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म यातायात बन्द गरिएको छ।

इलामको राजदुवालीमा मेची राजमार्ग हिलाम्मे भएपछि यातायात ठप्प छ। सिन्धुपाल्चोकको जिरोकिलो, कोदारी, लिपिङ र डुम्रेमा पहिरो तथा सडक भासिँदा अरनिको राजमार्ग अवरुद्ध भएको छ।

त्यस्तै, रसुवाको खाल्टेमा सडक कटान हुँदा त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडक, रुकुम पश्चिमको रिजेगार्ड खोलामा भेरी करिडोर र तेह्रथुमको काडेनजिक मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ।

बाढी तथा पहिरोको जोखिम कायमै रहेकाले प्रहरीले यात्रामा निस्कनुअघि सडकको अवस्थाबारे जानकारी लिन सर्वसाधारणलाई आग्रह गरेको छ।

 

तपाईको प्रतिक्रिया