मंगलबार १९ श्रावण २०८३
राजनीति

स्वदेशी उत्पादनलाई गुणस्तर चिन्ह लिन उद्योगीलाई मन्त्री यादवको आग्रह

सोमबार श्रावण १८, २०८३/ Monday 08-03-26

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले स्वदेशी उत्पादनको प्रवर्द्धन र उपभोक्तालाई गुणस्तरीय वस्तुको सुनिश्चितताका लागि उद्योगी तथा व्यवसायीलाई नेपाल गुणस्तर (एनएस) चिन्ह लिन आग्रह गरेकी छन्।

मन्त्रालयमा नेपाल गुणस्तर तथा नापतौल विभागकी महानिर्देशक कुमारी ज्योति जोशीसहित विभागका अधिकारीहरूसँग भएको छलफलमा मन्त्री यादवले नेपाली उत्पादनको गुणस्तर सुनिश्चित गर्न नेपाल गुणस्तर चिन्हको दायरा विस्तार गर्नुपर्नेमा जोड दिइन्।

उनले नेपालमै उत्पादित वस्तुलाई स्वदेशी बजारमा सहज रूपमा बिक्री–वितरण गर्न र उपभोक्तामाझ विश्वास बढाउन गुणस्तर चिन्ह महत्वपूर्ण हुने बताइन्।

मन्त्री यादवका अनुसार सरकारले उद्योगी–व्यवसायीलाई गुणस्तर चिन्ह प्राप्त गर्न प्रोत्साहन गर्ने र त्यसको प्रक्रिया थप सहज बनाउने तयारी गरेको छ। उनले नेपाल गुणस्तर चिन्ह प्राप्त गरेका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा समेत विस्तार गर्न मन्त्रालयले आवश्यक सहजीकरण गर्ने बताइन्।

हाल नेपालमा उत्पादित सिमेन्ट, रड, टायरलगायत विभिन्न औद्योगिक वस्तुले नेपाल गुणस्तर चिन्ह प्राप्त गरिसकेका छन्। पछिल्लो समय नेपालमै उत्पादन हुने सेनेटरी प्याडले समेत एनएस चिन्ह पाएको छ।

तर अझै धेरै उद्योग तथा कम्पनीहरूले गुणस्तर चिन्ह लिन बाँकी रहेकाले मन्त्रालयले समयमै आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।

मन्त्रालयले नेपाल गुणस्तर चिन्हको प्रयोगले स्वदेशी उत्पादनप्रति उपभोक्ताको विश्वास बढाउनुका साथै नेपाली ब्रान्डलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न सहयोग पुग्ने जनाएको छ। यसबाट विदेशी आयातमा निर्भरता घट्दै स्वदेशी उद्योग र उत्पादनलाई थप प्रोत्साहन मिल्ने सरकारको विश्वास छ।

 

तपाईको प्रतिक्रिया