अविरल वर्षाले देशभरका राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा अवरुद्ध
काठमाडौं । केही दिनदेखि निरन्तर परेको वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्गमा बाढी र पहिरोको जोखिम बढ्दा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीका अनुसार कोशी, बागमती र काठमाडौं उपत्यकासहितका विभिन्न क्षेत्रमा सडक पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन्।
काठमाडौं उपत्यकामा ललितपुरको बागमती गाउँपालिका–३, पाण्डुरमा पहिरो खस्दा कान्तिलोकपथ पूर्ण रूपमा बन्द भएको छ। त्यस्तै, काठमाडौंको नागार्जुन नगरपालिका–८, ठुलोखोलामा पहिरो जाँदा सितापाइला–धार्के सडक खण्डसमेत पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
कोशी प्रदेशमा भोजपुर नगरपालिका–५, बोखिम क्षेत्रमा बाढीका कारण मध्यपहाडी लोकमार्ग एकतर्फी रूपमा मात्र सञ्चालन भइरहेको छ। उक्त क्षेत्रमा वैकल्पिक मार्गको व्यवस्था गरिएको छ। इलाम नगरपालिका–९, राजदुवालीमा पहिरो खस्दा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ भने वैकल्पिक मार्ग प्रयोग गर्न सकिने व्यवस्था मिलाइएको छ।
बागमती प्रदेशका केही राजमार्गमा सम्भावित बाढी र पहिरोको जोखिमलाई ध्यानमा राख्दै समय निर्धारण गरेर सवारी सञ्चालनमा रोक लगाइएको छ। बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने मौसम र सडकको अवस्थाअनुसार सवारी सञ्चालन गरिने जनाइएको छ।
यस्तै, कान्तिलोकपथको हेटौँडा–ठिङ्गन–ललितपुर सडक खण्डमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको छ।
यसैबीच, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ चारकिलो र वडा नम्बर २ कोदारी क्षेत्रमा पहिरो खस्दा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
नेपाल प्रहरीले यात्रा अघि सम्बन्धित सडकको अवस्था बुझेर मात्र गन्तव्य तय गर्न तथा वर्षायाममा उच्च सतर्कता अपनाउन सबै यात्रुलाई आग्रह गरेको छ।
तपाईको प्रतिक्रिया