दुई दशकपछि हेटौंडा कपडा उद्योगमा फेरि चल्यो तान, परीक्षण उत्पादन सुरु
हेटौंडा । दुई दशकभन्दा लामो समयदेखि बन्द रहेको हेटौंडा कपडा उद्योगमा पुराना मेसिन र तान सञ्चालनमा आएका छन्। उद्योगका मेसिन मर्मतसम्भार गरी शनिबारदेखि परीक्षण उत्पादन सुरु गरिएको हो।
प्रधानमन्त्री बालेन्द्र शाहका निजी सचिव प्रदीप परियारका अनुसार नेपाली सेनाको नेतृत्वमा उद्योगमा रहेका पुराना मेसिन तथा तान मर्मत गरेर सञ्चालनमा ल्याइएको हो। मेसिन चल्न थालेपछि लामो समयदेखि सुनसान रहेको उद्योग परिसरमा फेरि कपडा बुन्ने तानको आवाज सुनिन थालेको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।
लामो समय बन्द रहँदा जीर्ण बनेका विद्युत् प्रणाली, मेसिन तथा भौतिक संरचनाको मर्मतसम्भारसँगै परीक्षण उत्पादन अघि बढाइएको हो। सरकारले परीक्षण उत्पादनको परिणामका आधारमा उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी गरेको छ।
गत असार १८ गते सरकारले हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरेपछि प्रक्रिया अघि बढेको थियो। उद्योगमन्त्री गौरीकुमारी यादवले पनि रुग्ण उद्योगमध्ये हेटौंडा कपडा उद्योगलाई प्राथमिकतामा राखेर सञ्चालन गर्ने बताएकी थिइन्।
२०५७ सालदेखि बन्द
चिनियाँ सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा २०३२ सालमा स्थापना भएको उद्योगले २०३५ सालदेखि व्यावसायिक उत्पादन थालेको थियो। तर, २०५७ सालदेखि उद्योग पूर्ण रूपमा बन्द छ।
यसअघि पनि उद्योग सञ्चालनका लागि पटक–पटक अध्ययन तथा प्रयास हुँदै आएका थिए। २०७५ सालको अध्ययनले उद्योग सञ्चालनका लागि करिब ३० करोड रुपैयाँ आवश्यक पर्ने र विभिन्न मोडालिटीबाट सञ्चालन गर्न सकिने सुझाव दिएको थियो।
अहिले परीक्षण उत्पादन सुरु भए पनि पुरानो प्रविधि, उत्पादन लागत, कच्चा पदार्थको आपूर्ति र निजी क्षेत्रका आधुनिक उद्योगसँग प्रतिस्पर्धा गर्नु सरकारका लागि मुख्य चुनौती हुने देखिएको छ।
नेपाली सेनाको जिम्मेवारीमा परीक्षण उत्पादन अघि बढाएर त्यसपछि सरकारले उद्योग सञ्चालन गर्ने तयारी गरेको प्रधानमन्त्री शाहको भनाइ छ। तान सञ्चालनमा आएसँगै हेटौंडा कपडा उद्योग पुनः सञ्चालन हुने सम्भावना बलियो बनेको छ।
तपाईको प्रतिक्रिया