मंगलबार १९ श्रावण २०८३
माैसम

देशभर मनसुनको प्रभाव : काठमाडौँ उपत्यकालगायत धेरै भूभागमा वर्षा

सोमबार श्रावण १८, २०८३/ Monday 08-03-26

काठमाडौँ।  देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ, नेपालको तराई भूभाग नजिक अवस्थित छ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। काठमाडौँ उपत्यकासहित कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानमा वर्षा भइरहेको छ भने सुदूरपश्चिमका केही क्षेत्रमा हल्का वर्षा जारी छ।

आज दिउँसो बागमती र गण्डकीका तराईका अधिकांश स्थान तथा मधेस, कोशी, लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ। कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ। गण्डकी र बागमतीका पहाडी भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना पनि रहेको छ।

रातिको समयमा पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका एक–दुई स्थानमा वर्षासँगै हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

विभागले भारी वर्षा हुने सम्भावना भएका क्षेत्रमा बाढी, पहिरो, गेग्रान बहाव र भू–क्षयको जोखिम बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। साथै प्रतिकूल मौसमका कारण जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा पछ्याउन अनुरोध गरेको छ।

 

तपाईको प्रतिक्रिया