आइतबार १७ श्रावण २०८३
समाज

विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन

शनिबार श्रावण १६, २०८३/ Saturday 08-01-26

काठमाडौँ । विश्वकीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को पाकिस्तानस्थित ८ हजार ४७ मिटर अग्लो ब्रोड पिक हिमालमा आएको हिमपहिरोमा परी निधन भएको पुष्टि भएको छ। उनीद्वारा स्थापित आरोहण कम्पनी इलाइट एक्सपेडले शनिबार सामाजिक सञ्जालमार्फत यो दुःखद समाचार सार्वजनिक गरेको हो।

कम्पनीका अनुसार बिहीबार ब्रोड पिकमा आएको भीषण हिमपहिरोमा निर्मल पुर्जासँगै उनका विश्वासपात्र आरोहण सहयोगी तथा मार्गदर्शक पुरबहादुर गुरुङ (युक्ता) र निमा शेर्पाले पनि ज्यान गुमाएका छन्। कम्पनीले जारी गरेको विज्ञप्तिमा दुर्घटनामा ज्यान गुमाएका सबैप्रति गहिरो श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूको योगदानको सम्मान गरेको छ।

दुर्घटनापछि सञ्चालन गरिएको खोज तथा उद्धार अभियानका क्रममा शनिबार बिहान मानवरहित उड्ने यन्त्रबाट गरिएको निरीक्षणमा क्याम्प–१ नजिक पाँचवटा शव फेला परेका थिए। यसअघि तीनवटा शव बरामद भइसकेका थिए। प्रतिकूल मौसम र दुर्गम भूगोलका बाबजुद मिङ्मा ग्याल्जे शेर्पा (मिङ्मा जी) र सिरबाज खानको नेतृत्वमा रहेको उद्धार टोली घटनास्थलमा पुगेर मृतकहरूको पहिचान गरेको थियो।

पूर्व बेलायती गोर्खा सैनिकसमेत रहेका निर्मल पुर्जाले सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल ६ महिना ६ दिनमै आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए। उनको यही साहसिक यात्रामाथि निर्माण गरिएको वृत्तचित्रले अन्तर्राष्ट्रिय स्तरमा व्यापक चर्चा पाएको थियो।

इलाइट एक्सपेडले यस कठिन घडीमा शोकमा रहेका परिवारजनको गोपनीयताको सम्मान गर्न सबैसँग आग्रह गरेको छ। साथै दुर्घटनामा ज्यान गुमाएका सम्पूर्ण आरोहीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूको योगदान सधैँ स्मरणीय रहने उल्लेख गरेको छ।

तपाईको प्रतिक्रिया