अमेरिकी हमला दोहोरिए खाडी क्षेत्रलाई कडा जवाफ दिने इरानको चेतावनी
काठमाडौं। अमेरिकाले इरानमाथि पुनः सैन्य आक्रमण गरे खाडी क्षेत्रका ऊर्जा पूर्वाधारलाई समेत निशाना बनाइने भन्दै इरानले कडा चेतावनी दिएको छ।
इरानी विदेशमन्त्री अब्बास अराघचीले टर्की, पाकिस्तान र साउदी अरेबियाका उच्च अधिकारीसँग छुट्टाछुट्टै टेलिफोन संवाद गर्दै अमेरिका वा इजरायलबाट थप आक्रमण भए त्यसको निर्णायक र अनुपातिक जवाफ दिइने बताएका हुन्। उनले कुनै पनि आक्रामक गतिविधिले क्षेत्रीय अस्थिरता थप चर्किने चेतावनीसमेत दिएका छन्।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्निकट सञ्चारमाध्यम नूरन्युज ले पनि अमेरिकाले इरानको ऊर्जा पूर्वाधारमा आक्रमण गरे साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार र इजरायलका तेल तथा ग्यास संरचनालाई निशाना बनाइने जनाएको छ।
यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्तामार्फत समाधानको सम्भावना अझै कायम रहेको बताए पनि आवश्यक परे इरानमाथि पुनः आक्रमण गर्न सकिने चेतावनी दिएका छन्।
यसैबीच, द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उच्च रहँदा होर्मुज जलडमरू हुँदै हुने ऊर्जा आपूर्ति प्रभावित भएको छ। कुवेतले इरानबाट प्रक्षेपण गरिएका ड्रोन खसालेको जनाएको छ भने यमनका हुथी विद्रोहीले बाब–अल–मन्देब जलडमरूमा जहाजलाई लक्षित गर्ने चेतावनी दिएका छन्। बेलायतको युनाइटेड किङ्डम मेरिटाइम ट्रेड अपरेसन्सका अनुसार ओमानको तट नजिक दुई वटा ट्यांकरमाथि पनि सुरक्षा घटना भएको छ।
तपाईको प्रतिक्रिया