प्रधानमन्त्री शाहले दिए ‘ब्रोड पिक’ दुर्घटनामा ज्यान गुमाएका आरोहीप्रति श्रद्धाञ्जलि
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले पाकिस्तानस्थित ब्रोड पिक हिमाल आरोहणका क्रममा ज्यान गुमाएका नेपाली तथा विदेशी आरोहीप्रति गहिरो श्रद्धाञ्जली व्यक्त गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाहले विश्वको १२औँ अग्लो ८,०५१ मिटर उचाइको ब्रोड पिक आरोहणका क्रममा विश्व कीर्तिमानधारी नेपाली आरोही निर्मल पुर्जा (निम्सदाइ) सहित छ नेपाली र चार विदेशी आरोहीको निधन भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका हुन्।
प्रधानमन्त्री शाहले हिमाल आरोहण केवल शिखर चुम्ने यात्रा नभई साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको सर्वोच्च अभिव्यक्ति भएको उल्लेख गरेका छन्। उनले हिमालले धेरैलाई सफलताको शिखरमा पुर्याए पनि कहिलेकाहीँ आफ्नै काखमा सधैँका लागि अँगालेर राख्ने भन्दै दिवंगत आरोहीहरू आफ्नो साहस, समर्पण र योगदानका कारण इतिहासमा सदैव अमर रहने बताएका छन्।
प्रधानमन्त्री शाहले ब्रोड पिक दुर्घटनाले आफू स्तब्ध भएको उल्लेख गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्।
तपाईको प्रतिक्रिया