बुधबार २० श्रावण २०८३
राजनीति

सुदूरपश्चिमका विकास आयोजना र जनसरोकारका विषयमा प्रधानमन्त्रीसँग रास्वपा सांसदको भेट

मंगलबार श्रावण १९, २०८३/ Tuesday 08-04-26

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूसँग समसामयिक राजनीतिक अवस्था, सुशासन तथा क्षेत्रीय विकासका विषयमा छलफल गरेका छन्।

सिंहदरबारमा भएको भेटमा सांसदहरूले सरकारले सुशासनका क्षेत्रमा गरेका कामलाई संसद्मार्फत नागरिकसम्म प्रभावकारी रूपमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका थिए।

छलफलका क्रममा सांसदहरूले आ–आफ्ना निर्वाचन क्षेत्रका विकास आयोजना, स्थानीय समस्या तथा सुदूरपश्चिमका समग्र चुनौती र सम्भावनाबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए। सांसद जनकसिंह धामीका अनुसार सुदूरपश्चिमको राजनीतिक अवस्था, विकासका आवश्यकता र सम्भावनाबारे पनि प्रधानमन्त्रीलाई जानकारी गराइएको थियो।

सांसद केपी खनालले गेटा विश्वविद्यालय सञ्चालन, कैलाली–कञ्चनपुरका तराई क्षेत्रमा छाडा चौपाया व्यवस्थापन, धनगढी–खुटिया–दिपायल फास्ट ट्र्याक, विद्युतीकरण, सडक दुर्घटना न्यूनीकरण तथा तटबन्ध निर्माणलगायतका विषयमा देखिएका समस्याबारे प्रधानमन्त्रीलाई अवगत गराइएको जानकारी दिए।

यस्तै, भन्सार व्यवस्थापन, आरक्षपीडितका समस्या, हुलाकी सडक, किसानका लागि धान खरिद–बिक्रीको व्यवस्था तथा दोधारा–चाँदनी क्षेत्रमा नदी कटान नियन्त्रणका विषय पनि छलफलमा उठाइएको थियो।

भेटवार्तामा सांसदहरू ताराप्रसाद जोशी, खेमराज कोइराला, हरिमोहन भण्डारी, जनकसिंह धामी, कोमल ज्ञवाली, ज्ञानेन्द्र महता, जगत जोशी र केपी खनाललगायतको सहभागिता रहेको थियो।

 

तपाईको प्रतिक्रिया