शनिबार १६ श्रावण २०८३
बिश्वो

समुद्री जलमार्गमा रक्षा गठबन्धन गर्ने १४ वटा देशको घोषणा

शुक्रबार श्रावण १५, २०८३/ Friday 07-31-26

एजेन्सी। साउदी अरेबियासहित १४ वटा देशले महत्त्वपूर्ण जलमार्गमा आवागमन गर्ने व्यावसायिक जहाजहरूको सुरक्षा गर्न एक रक्षात्मक नौसेना गठबन्धन स्थापना गर्ने घोषणा गरेका छन् । बाब एल–मन्डेब स्ट्रेट, लाल सागर र एडनको खाडीलगायत महत्त्वपूर्ण जलमार्गमा रक्षा गठबन्धन गर्न उनीहरू सहमत भएका समाचार संस्था एएनआईले जनाएको छ ।

साउदी अरबविरुद्ध नौसैनिक नाकाबन्दी गर्दै इरान समर्थित हुथी मिलिसियाले निरन्तर समुद्री अवरोध गर्दै आएको छ । स्ट्रेट अफ हर्मुजमा तनावका कारण उत्पन्न पारवहन अवरोधका कारण सुरक्षा खतरा बढेपछि विश्वव्यापी ऊर्जा सुरक्षाको डर बढेको छ । 

यो गठबन्धनमा साउदी अरबसहित कुवेत, बहराइन, कतार, पाकिस्तान, टर्किए, इजिप्ट, जोर्डन, यमन, बङ्गलादेश, नाइजेरिया, सुडान, जिबुटी र सोमालिया रहेका छन् ।

यो सम्झौतालाई रियादमा आयोजित सैन्य सम्मेलनमा औपचारिक रूप दिइएको थियो जसमा युरोपेली सङ्घका प्रतिनिधिहरूसँगै ४३ देशका रक्षा प्रमुख र प्रतिनिधिहरू भेला भएका थिए । 

साउदी अरबले संस्थापक राष्ट्रका रूपमा काम गर्ने र आफ्नो क्षेत्रमा केन्द्रीय मुख्यालय स्थापना गर्ने तयारी भएको जनाएको छ । प्रस्तावित सङ्गठनात्मक ढाँचाले संयुक्त कमान्ड संरचना, परिचालन नियन्त्रण केन्द्र र गठबन्धन प्रयासहरूलाई समन्वय गर्न सचिवालय स्थापना गर्ने उल्लेख छ । 

यसबाहेक साउदी अरबको रक्षा मन्त्रालयले थप देशहरूले आ–आफ्नो घरेलु स्वीकृति प्रक्रिया पूरा गरेपछि यस सुरक्षा गठबन्धनमा सहभागी हुन सक्ने बताएको छ ।

तपाईको प्रतिक्रिया